Latest News

चुनावी भागबण्डा मिलेको भोलिपल्टै प्रचण्डले प्रधानमन्त्री देउवालाई लगाए गम्भीर आरोप

Nepalese Times April 21, 2022 (2 Year ago)    985 Views

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल राष्ट्र बैंक गभर्नर महाप्रसाद अधिकारीलाई हटाउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाको पनि हात रहेको आरोप लगाएका छन् ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माबीच सल्लाह भएर नै राष्ट्र बैंकका गभर्नर अधिकारीलाई हटाउने निर्णय भएको भन्दै अर्थमन्त्री शर्माको बचाउ गरेका हुन् ।

धनगढी विमानस्थलमा प्रेस सेन्टरले गरेको पत्रकार सम्मेलनमा उनले गभर्नरको विषयमा प्रधानमन्त्री र अर्थमन्त्रीको सल्लाह भएकोले अर्थमन्त्री शर्मामाथि मात्रै दोष थुपार्न नमिल्ने बताए ।

सुरुबाटै गभर्नर र सरकारबीच तिक्तता पैदा भएको भन्दै उनले भने, ‘सुरुबाटै गभर्नर र सरकारका बीचमा समस्या देखिएको हो । अर्थमन्त्री र प्रधानमन्त्रीले सल्लाह गरेर नै त्यस्तो निर्णय गरेको भन्ने प्रष्ट भइसकेको छ ।’

उनले १३ गते अदालतमा दुवैका कुरा आउने र त्यसपछि मात्रै के भएको हो भन्न सकिने भन्दै उनले यसबारे अहिले नै सबैकुरा भन्न सकिने अवस्था नरहेको बताए ।

गएको चैत ४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार २५ चैतबाट निलम्बनमा परेका अधिकारीलाई सर्वोच्च अदालतको आदेशले राष्ट्र बैंक फर्किने बाटो खुला गरिदिएको छ ।

सर्वोच्चले ‘गभर्नर अधिकारीलाई पदीय जिम्मेवारी पूरा गर्न दिनू’ भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

सर्वोच्च अदालतको आदेशसँगै अर्थमन्त्रीले राजीनामा दिनुपर्ने आवाज उठिरहेका छन् । यस्तै अध्यक्ष पचण्डले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन हुने बताएका छन् ।

वैशाख ३० गते निर्वाचन हुने भन्दै उनले देश निर्वाचन प्रक्रियामा गइसकेको र यो निर्वाचनलाई स्वच्छ निष्पक्ष र धाँधलीरहित बनाउनुपर्ने बताए ।

महानगरपालिका र उपमहानगरपालिकाका विषयमा गठबन्धनमा भएका सहमतिहरू कार्यान्वयनमा समस्या नरहेको भन्दै उनले केही स्थानीय तहमा विवाद भएकोमा भने स्वीकार गरेका छन् ।

असन्तुष्टिको कुरा सुनिनु लोकतन्त्रको सुन्द पक्ष रहेको भन्दै उनले यसले परिणाम परक नपर्नेसमेत दाबी गरे । सुदूरपश्चिममा सबै क्षेत्रका तालमेल गर्ने र सहमति नभएका ठाउँमा मित्रवत् प्रतिस्पर्धा हुनसक्नेसमेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस