Latest News

भरतपुरमा कांग्रेसले बागी उठाए माओवादीले पनि उपमेयर नछाड्ने, रेनुले खडा गरिन् बागी उम्मेदवार

Nepalese Times April 21, 2022 (2 Year ago)    2130 Views

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका माओवादी केन्द्रलाई दिने सत्तारुढ गठबन्धनको औपचारिक निर्णय छ । लामो बहसपछि चितवनको भरतपुर महानगरपालिका माओवादी केन्द्रलाई छाड्न नेपाली कांग्रेस तयार भएको हो ।

तर, भरतपुर महानगरपालिका माओवादी केन्द्रलाई दिने औपचारिक निर्णय भइसक्दासमेत चितवन कांग्रेस भने यो निर्णयलाई मान्न तयार भइरहेको छैन । उनीहरुले अझै पनि अवस्था जस्तोसुकै आउने सम्भावनालाई आंकलन गर्दै आवश्यक तयारी गरिरहेका छन् ।

भरतपुरको मेयरमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेनु दाहाल फेरि साझा उम्मेदवार बन्ने भएपनि चितवन कांग्रेसले भने उनलाई सहयोग नगर्ने भित्री तयारी थालेका छन् ।

चितवन कांग्रेसले भरतपुर महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बनाउने भित्रि तयारी थालेको एक नेताले बताए । केन्द्रको निर्णय अवज्ञा गर्दै स्वतन्त्र उम्मेदवार उठाएर भरतपुरमा रेनुलाई हराउने अभियानमा कांग्रेसका नेताहरु सक्रिय भएको माओवादी केन्द्रका नेताहरु पनि बताउँछन् ।

नेपाली कांग्रेसले जुनसुकै समयमा धोका दिन सक्ने बुझेका मेयर रेनु दाहालले पनि आवश्यक तयारीसहित कार्यकर्तामाझ सर्कुलर जारी गरेकी छिन् । उनले मेयरमा समर्थन नगर्ने अवस्था भएमा उपमेयर पनि कांग्रेसलाई दिन नसक्ने भन्दै बागी उम्मेदवार खडा गर्नका लागि सर्कुलर गरेकी बुझिएको छ ।

मेयर दाहालले पनि एकजना बागी उपमेयर खडा गरेर राख्न भरतपुर कांग्रेसमा सर्कुलर जारी गरेकी माओवादी केन्द्रका एक नेताले बताए । तर, माओवादी केन्द्रको तर्फबाट उपमेयरको बागी उम्मेदवार कसलाई बनाउन खोजिएको हो भन्नेबारे भने खुलेको छैन ।

बुधबार सत्ता गठबन्धनबीच ६ महानगरपालिका र ११ उपमहानगरको भागबन्डा औपचारिक रुपमै मिलेपछि महानगरपालिका र उपमहानगरपालिकाहरुमा आवश्यक तयारी सुरु भएको छ ।

महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा सत्ता गठबन्धनका कुनकुन दलले साझा उम्मेदवार उठाउने सहमति जुटाउन दलहरुको बैठक निरन्तर बसिरहेको थियो।

सहमति जुटाउन दलहरुको आन्तरिक र बहुपक्षीय बैठक बसेको थियो। त्यस्तो बैठकले सहमति गरेको हो। सहमति अनुसार नेपाली काँग्रेसबाट महानगरपालिका मेयर काठमाडौं, ललितपुर र विराटनगरमा, भरतपुरमा माओवादी, पोखरामा नेकपा एकीकृत समाजवादी पार्टी र वीरगञ्जमा जनता समाजवादी पार्टीले मेयरको साझा उम्मेदवार बनाउने छन् ।

उपमेयरमा काठमाडौंमा नेकपा एस, ललितपुरमा माओवादी, विराटनगरमा जसपा र वीरगञ्ज, भरतपुर र पोखरामा काँग्रेसका साझा उम्मेदवार हुनेछन् । दलहरुको सहमति अनुसार स्थानीय तह निर्वाचनमा ७ वटा उपमहानगरपालिकाको नेतृत्व कांग्रेसले पाउनेछ ।

नेकपा माओवादी केन्द्रले जीतपुर सिमरा र घोराही गरी दुई उपमहानगरपालिकाको नेतृत्व पाउनेछ । एकीकृत समाजवादीले हेटौंडा र जनता समाजवादी पार्टीले जनकपुर उपमहानगरपालिकाको नेतृत्व पाउनेछ । यीबाहेक धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढीको नेतृत्व कांग्रेसले पाउनेछ ।

यसअघि २०७४ सालमा भएको स्थानीय चुनावमा ६ महानगरमध्ये दुई ९काठमाडौं र पोखरा० एमालेले जितेको थियो भने कांग्रेसले ललितपुर र विराटनगरमा जित हात पारेको थियो। भरतपुरमा कांग्रेसको समर्थनमा माओवादी केन्द्रले मेयर जितेको थियो भने वीरगन्जमा तत्कालीन संघीय समाजवादी फोरमले जितेको थियो।

प्रतिक्रिया दिनुहोस