Latest News

गठबन्धनमा भागबन्डापछि शेखर कोइरालासँग महामन्त्री गगन थापाले गरे यस्तो गुनासो

Nepalese Times April 20, 2022 (2 Year ago)    1072 Views

 बालुवाटारमा सत्तागठबन्धनले महानगर र उपमहानगरको भागबन्डालाई मिलेपछि नेपाली कांग्रेसका नेता शेखर कोइराला र महामन्त्री गगन थापाबीच छलफल भएको छ ।

कोइराला पक्षका नेविसंघले स्थापना दिवस मनाउन जमलमा गरेको विचार गोष्ठीमा कोइराला र थापाबीच  गठबन्धनबारे छलफल भएको हो ।

यो कुरा कोइरालाले आफूले भाषण गर्ने क्रममा विस्तृतमा खुलाए।

‘अहिले हामी कानेखुसी गर्दै थियौं, गगनजीले मलाई भन्नुभयो- दाइ कस्तो बिडम्बना भयो, हामीहरूले त अर्को पार्टीको चिन्हमा स्वस्तिक छाप लगाउनुपर्ने भयो।’

कोइरालाले कम्युनिष्टहरूसँग मिलेर कांग्रेसले चुनाव लड्नुपर्ने अवस्था किन आयो भनेर प्रश्न पनि गरेका थिए।

‘कम्युनिष्टहरूसँग मिलेर चुनाव लड्नुपर्ने अवस्था किन आयो, चुनावपछि हामी लेखाजोखा गर्छौं,’ कोइरालाले भने, ‘कांग्रेसका उम्मेदवार जिताउन तपाईंहरू घर-घर जानुस्, गाउँ-गाउँ जानुस्।’

उनले गठबन्धनको निर्णय गर्दा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पन्छाइएकोसमेत बताएका छन्।

‘के कारणले कांग्रेस केन्द्रीय समितिको निर्णय पन्छाएर नेताहरू गठबन्धन बैठक गर्दै निर्णय गरेर जिल्ला-जिल्ला पठाइरहनुभएको छ ?,’ उनले भने, ‘कांग्रेसलाई कसैको वैशाखी लिएर जानु पर्दैन। हामी एक्लै जान सक्छौं।’

कोइरालाअघि बोलेका महामन्त्री थापाले भने चुनावी तालमेलको निर्णय गर्ने अधिकार पार्टीको स्थानीय समितिलाई रहेको बताएका थिए। महानगर र उपमहानगरबारे भने केन्द्रले गठबन्धनबाट निर्णय लिने तर बाँकी गाउँ/नगरबारे तालमेल गर्ने/नगर्ने भन्ने स्थानीय पार्टी समितिले नै निर्णय लिन सक्ने थापा बताउँछन्।

चैत १५ मा सकिएको कांग्रेस केन्द्रीय समिति बैठकले स्थानीय आवश्यकता र औचित्यका आधारमा चुनावी तालमेल गर्न सकिने निर्णय गरेको थियो। केन्द्रीय समितिले स्थानीयस्तरबाटै तालमेलको निर्णय गर्न दिएको हक केन्द्रले खोस्न नमिल्ने थापा बताउँछन्।

सत्तागठबन्धनले छ महानगर र ११ उपमहानगरको भागबन्डा गरिसकेको छ। काठमाडौं, ललितपुर र विराटनगर महानगर कांग्रेसले मेयर उठाउनेछ भने अरू पार्टीलाई उपमेयर छाडेको छ।

११ मध्ये सात उपमहानगर कांग्रेसले मेयर उठाउने भएको छ। मेयर नपाएका ठाउँमा कांग्रेसले उपमेयर राखेको छ। पाँच दलीय गठबन्धनबाट महानगर र उपमहानगरमा उम्मेदवारी दिने भएका छन्।

सत्ता गठबन्धनबीच भएको सहमतिमा गाउँ/नगरमा चुनावी तालमेल नभए सत्तागठबन्धनभित्रकै दलसँग मित्रवत् प्रतिस्पर्धा गर्न सकिने उल्लेख छ। तर एमालेसँग तालमेल गर्न भने सत्तागठबन्धनमा रोक लगाइएको छ।

प्रतिक्रिया दिनुहोस