Latest News

गठबन्धनमा बाँडफाँडको टुंगो लागेपछि बाबुराम भट्टराई गरे यस्तो ट्वीट

Nepalese Times April 20, 2022 (2 Year ago)    746 Views

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले चुनावी तालमेलको इमान्दारितापूर्वक पालना गर्न आग्रह गरेका छन्।

पाँच दलीय गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकामा घटकहरूको तर्फबाट मेयर उपमेयरको बाँडफाँडको टुंगो लगाएपछि ट्वीट गर्दै भट्टराईले सबैले इमान्दारितापूर्वक यसको पालना गर्न अपिल गरेका हुन्।

नगरपालिका र गाउँपालिकामा पनि न्यायोचित ढंगले बाँडफाँड गरेर गठबन्धनका उमेदवारहरूको विजय सुनिश्चित गर्न पनि आग्रह गरेका छन्।

त्यस्तै महानगरपालिका र उपमहानगरपालिकाको नेतृत्वको विषयमा सहमति गर्न निरन्तर बसिरहेको सत्ता गठबन्धनको बैठकमा सहमति जुटेको छ।

बुधबार ६ महानगरपालिका र ११ उपमहानगरको भागबन्डा टुंगिएको बैठकमा सहभागी एक नेताले बताए। महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा सत्ता गठबन्धनका कुनकुन दलले साझा उम्मेदवार उठाउने सहमति जुटाउन दलहरुको बैठक निरन्तर बसिरहेको थियो।

केही बेरमा अन्तिम सहमति पत्रमा हस्ताक्षर हुँदैछ। सहमति जुटाउन दलहरुको आन्तरिक र बहुपक्षीय बैठक बसेको थियो। त्यस्तो बैठकले सहमति गरेको हो।

अब केही बेरमा संयुक्त बैठक बसेर सहमति पत्रमा हस्ताक्षर गर्ने तयारी भइरहेको एक नेताले बताए ।सहमति अनुसार नेपाली काँग्रेसबाट महानगरपालिका मेयर काठमाडौं, ललितपुर र विराटनगरमा, भरतपुरमा माओवादी, पोखरामा नेकपा एकीकृत समाजवादी पार्टी र वीरगञ्जमा जनता समाजवादी पार्टीले मेयरको साझा उम्मेदवार बनाउने छन् ।

उपमेयरमा काठमाडौंमा नेकपा एस, ललितपुरमा माओवादी, विराटनगरमा जसपा र वीरगञ्ज, भरतपुर र पोखरामा काँग्रेसका साझा उम्मेदवार हुनेछन् ।दलहरुको सहमति अनुसार स्थानीय तह निर्वाचनमा ७ वटा उपमहानगरपालिकाको नेतृत्व कांग्रेसले पाउनेछ ।

नेकपा माओवादी केन्द्रले जीतपुर सिमरा र घोराही गरी दुई उपमहानगरपालिकाको नेतृत्व पाउनेछ । एकीकृत समाजवादीले हेटौंडा र जनता समाजवादी पार्टीले जनकपुर उपमहानगरपालिकाको नेतृत्व पाउनेछ ।

यीबाहेक धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढीको नेतृत्व कांग्रेसले पाउनेछ ।

प्रतिक्रिया दिनुहोस