Latest News

सकियो सत्ता गठबन्धन बैठक: कसले कहाँ पाए मेयर र उपमेयर ? (सूचीसहित)

Nepalese Times April 20, 2022 (2 Year ago)    946 Views

काठमाडौं – महानगरपालिका र उपमहानगरपालिकाको नेतृत्वको विषयमा सहमति गर्न निरन्तर बसिरहेको सत्ता गठबन्धनको बैठकमा सहमति जुटेको छ।

बुधबार ६ महानगरपालिका र ११ उपमहानगरको भागबन्डा टुंगिएको बैठकमा सहभागी एक नेताले बताए। महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा सत्ता गठबन्धनका कुनकुन दलले साझा उम्मेदवार उठाउने सहमति जुटाउन दलहरुको बैठक निरन्तर बसिरहेको थियो।

केही बेरमा अन्तिम सहमति पत्रमा हस्ताक्षर हुँदैछ। सहमति जुटाउन दलहरुको आन्तरिक र बहुपक्षीय बैठक बसेको थियो। त्यस्तो बैठकले सहमति गरेको हो। अब केही बेरमा संयुक्त बैठक बसेर सहमति पत्रमा हस्ताक्षर गर्ने तयारी भइरहेको एक नेताले बताए ।

सहमति अनुसार नेपाली काँग्रेसबाट महानगरपालिका मेयर काठमाडौं, ललितपुर र विराटनगरमा, भरतपुरमा माओवादी, पोखरामा नेकपा एकीकृत समाजवादी पार्टी र वीरगञ्जमा जनता समाजवादी पार्टीले मेयरको साझा उम्मेदवार बनाउने छन् ।

उपमेयरमा काठमाडौंमा नेकपा एस, ललितपुरमा माओवादी, विराटनगरमा जसपा र वीरगञ्ज, भरतपुर र पोखरामा काँग्रेसका साझा उम्मेदवार हुनेछन् । दलहरुको सहमति अनुसार स्थानीय तह निर्वाचनमा ७ वटा उपमहानगरपालिकाको नेतृत्व कांग्रेसले पाउनेछ ।

नेकपा माओवादी केन्द्रले जीतपुर सिमरा र घोराही गरी दुई उपमहानगरपालिकाको नेतृत्व पाउनेछ । एकीकृत समाजवादीले हेटौंडा र जनता समाजवादी पार्टीले जनकपुर उपमहानगरपालिकाको नेतृत्व पाउनेछ । यीबाहेक धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढीको नेतृत्व कांग्रेसले पाउनेछ ।

यसअघि २०७४ सालमा भएको स्थानीय चुनावमा ६ महानगरमध्ये दुई (काठमाडौं र पोखरा) एमालेले जितेको थियो भने कांग्रेसले ललितपुर र विराटनगरमा जित हात पारेको थियो। भरतपुरमा कांग्रेसको समर्थनमा माओवादी केन्द्रले मेयर जितेको थियो भने वीरगन्जमा तत्कालीन संघीय समाजवादी फोरमले जितेको थियो।

 

प्रतिक्रिया दिनुहोस