Latest News

यी तीन पार्टीसँग चुनावी तालमेल गर्न जिल्ला इन्चार्ज तथा अध्यक्षहरूलाई एमालेको निर्देशन

Nepalese Times April 20, 2022 (2 Year ago)    642 Views

नेकपा एमालेले तीन वटा पार्टीसँग चुनावी तालमेल गर्न निर्देशन दिएको छ। जिल्ला इन्चार्ज तथा अध्यक्षहरूलाई आज महासचिव शंकर पोखरेलले पठाएको पत्रमा राप्रपा नेपाल, परिवार दल र राष्ट्रिय जनमोर्चाको केन्द्रीय समन्वय परिषदसँग सहकार्य गर्न निर्देशन दिइएको छ।

स्थानीय चुनावमा कमल थापा नेतृत्वको राप्रपा नेपाल र एकनाथ ढकाल नेतृत्वको परिवार दलसँग चुनावी तालमेल गर्ने निर्णय एमालेले गत चैत ३० मा गरेको थियो। यस्तै चित्रबहादुर केसीसँग विद्रोह गरेको जनमोर्चासँग पनि सहकार्य गर्न एमालेले भनेको छ।

उक्त सहमति कार्यान्वयन गर्न महासचिव पोखरेलले प्रदेश, जिल्लाका कमिटीलाई आग्रह गरेका हुन्। पार्टीको प्रभाव र अवस्था हेरेर आ-आफ्नो कार्यक्षेत्रमा आवश्यक अनुसार सहमति कार्यान्वयन गर्न एमालेले आग्रह गरेको हो।

त्यस्तै स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते हुँदैछ । त्यसको लागि निर्वाचन आयोगले वडा सदस्य देखि अध्यक्ष र प्रमुखका लागि धरौटी रकम तोकेको छ ।

निर्वाचन आयोगका अनुसार स्थानीय तहको वडा सदस्य उठ्नेले ५०० धरौटी बुझाउनु पर्ने हुन्छ । वडा अध्यक्षका लागि एक हजार रुपैयाँ धरौटी तोकिएको छ ।

गाउँपालिका अध्यक्ष र उपाध्यक्षका लागि १ हजार ५ सय रुपैयाँ धरौटी तोकिँदा नगर प्रमुख र उपप्रमुखको धरौटी रकम पनि १ हजार ५ सय रहेको छ । निर्वाचन आयोगले महिला, दलित वा अल्पसङ्ख्यक समुदायका लागि भने धरौटीमा ५० छुटको व्यवस्था गरेको छ ।

निर्वाचन आयोगले आचारसंहितामार्फत गरेको राजीनामा दिनुपर्ने प्रवाधान तत्काल कार्यान्वयन नगर्नु भनी सर्वोच्च अदालतले यसअघि दिएको अल्पकालीन अन्तरिम आदेश मंगलबार खारेज भएको छ ।

योसँगै स्थानीय तहका जनप्रतिनिधिले अब स्थानीय तह निर्वाचनमा मनोनयन दर्ता गर्नुअघि पदबाट राजीनामा दिनुपर्ने व्यवस्था कायमै रहने भएको छ ।

न्यायाधीशहरु तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले दायर गरेको रिट निवेदन खारेज हुने निर्णय गरेको सर्वोच्च अदालत स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस