Latest News

गठबन्धनमा फेरि किचलो: बालुवाटारमा सुरु भयो बैठक, यी विषयमा अझै मिलेन कुरा

Nepalese Times April 20, 2022 (2 Year ago)    761 Views

काठमाडौं । प्रधानमन्त्री निवास बालु्वाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ । महानगरपालिकाको भागबण्डा मिलाएको सत्तारुढ दलहरु फेरि छलफलमा जुटेका हुन् ।

बिहान ११ बजेदेखि बस्ने भनिएको बैठक सहमतिको खाका नबन्दा ढिला भएर सुरु भएको छ । यो बैठकमा ११ वटा उपमहानगरपालिका भागवण्डा गर्ने तयारी रहेको नेताहरुले बताउका छन् ।

लामो रस्साकस्सीपछि महानगरपालिकाको भागवण्डा टुंग्याएको सत्तारुढ गठबन्धनभित्र कुन उपमहानगर कुन दलले लिनेबारे शीर्ष नेताहरुबीच पक्कापक्की नै भइसकेको छ ।

यसबारे सहमतिलाई अन्तिम रुप दिन भन्दै नेताहरु गएराति पनि बालुवाटारमा छलफलमा व्यस्त भएका थिए । स्रोतका अनुसार बालुवाटारमा विभिन्न चरणवद्ध छलफल भइरहेका छन्।

एक नेताका अनुसार बैठक रोकिँदै चल्दै गरिरहेको छ । सहमति जुटाउन एकपक्षीय द्विपक्षी र बहुपक्षीय बैठक चलिरहेको उनले बताएका छन् । सत्तारुढ दलहरुबीच भएको भागबण्डा अनुसार काठमाडौं, ललितपुर र विराटनगर कांग्रेसलाई दिने सहमतिन भएको छ । यस्तै पोखरा एकीकृत समाजवादीलाई, वीरगञ्ज जसपालाई र भरतपुर नेकपा माओवादी केन्द्रले लिने गरी सहमति भएको हो।

यस्तै पोखरा महानगरपालिकाको मेयर पद एकीकृत समाजवादीलाई दिने निर्णय गरिएपछि नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ । कांग्रेसको पोखरा महानगर समितिले जिल्ला कार्यालयमा तालाबन्दी गरेको हो ।

नेपाली कांग्रेस पोखरा महानगरका सचिव गणेशबहादुर थापाले कांग्रेस कार्यकर्तालाई अपमान हुने गरी एकीकृत समाजवादीलाई मेयर दिने निर्णय नसच्याउँदासम्म ताला नखोल्ने बताए ।

अब कसरी अगाडि बढ्ने भन्ने विषयमा महानगर कमिटी, वडा कमिटी र पदाधिकारीको बैठक दिउँसो एक बजे बोलाइएको उनले जानकारी दिए । केन्द्रको निर्णयविरूद्ध विद्रोह हुने बताउँदै थापाले स्वतन्त्र उम्मेदवारी भए पनि दिने विषयमा बैठकमा छलफल हुने बताए ।

सोमबार नै पोखरा एकीकृत समाजवादीको भागमा परेको खबर बाहिरिएसँगै नेपाली कांग्रेस कास्की जिल्ला र नगर समितिका सचिवले एकीकृत समाजवादीसँग सम्बन्ध टुटेको, हैसियतभन्दा ठूलो भाग खोजेको भन्दै मित्रवत प्रतिस्पर्धा गर्ने बताएका थिए ।

लगत्तै सभापति शेरबहादुर देउवाले तुरून्त काठमाडौं आउनू भनेपछि कास्कीका कांग्रेस नेता हरू मंगलबार देउवालाई भेट्न गएका थिए । देउवाले गठबन्धनका समस्या बुझिदिन र विवाद ननिकाली गठबन्धनलाई जिताउन निर्देशन दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस