Latest News

काठमाडौंमा गठबन्धनको मेयर उम्मेदवार प्रकाशमान पत्नी सिर्जना सिंह

Nepalese Times April 20, 2022 (2 Year ago)    1586 Views

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहकी पत्नी सिर्जना सिंहले काठमाडौं महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी हुने निश्चित भएकी छिन् ।

महानगर कार्यसमितिले आकांक्षीका नाम केन्द्रलाई सिफारिस नगर्दै सिंहलाई उम्मेदवार बनाउन नेताहरु सहमत भएका छन् । यसअघि नै प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापतिन शेरबहादुर देउवाले सिंहलाई मेयरको उम्मेदवार बनाउने वचन दिइसकेका छन् ।

मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा कांग्रेस नेताहरुले सिंहलाई काठमाडौंमा मेयरको उम्मेदवार उठाउने बताएको माओवादी केन्द्रका एक नेतालेसमेत खुलासा गरेका छन् ।

महानगर कार्यसमितिले सिफारिस गरेका नामबाट केन्द्रीय संसदीय समितिले उम्मेदवार छनोट गर्ने व्यवस्था रहेको र सिर्जना सिंह कांग्रेसको काठमाडौंको मेयर हुने कुना निश्चित जस्तै भएको नेपाली कांग्रेसका एक नेताले बताए ।

काठमाडौं मेयरको विषयमा मंगलबार शीर्ष नेताको बैठकमा पनि छलफल भएको थियो । नेता प्रकाशमान सिंह निकट काठमाडौंका एक जिल्ला नेताले सिर्जनाको नाम कांग्रेसको मेयरको उम्मेदवारमा निश्चित भएको अबताएका छन् ।

सिंहले भित्र भित्र मेयरको तयारी गरे पनि बाहिर भने मुख खोलेकी थिइनन् । महिलासंघ र नेविसंघ काठमाडौं समितिले सिंहलाई मेयरमा उठ्न दबाब दिएका थिए । सिंहले बाहिर मुख नखोले पनि उनी आफ्नो पक्षमा वातावरण बनाउन लागिरहेको नेविसंघका एक नेता बताउँछन् ।

सिंहले सक्रिय राजनीति २०३६ सालदेखि सुरु गरेकी थिइन् । २०३६ सालमा सिंह गोरखाको महिला संघको अध्यक्ष बनेकी थिइन् । त्यसपछि ०३८ सम्मको अवधिमा सिंह महावौद्ध क्याम्पसमा नेविसंघको इकाइ सभापति बनेकी थिइन् । सोही वर्ष शंकरदेव क्याम्पसको स्ववियु निर्वाचनबाट कोषाध्यक्ष बनिन् ।

२०४६ साल पश्चात् खुला राजनीति सुरु भएपछि सिंहले स्वास्थ्य शिविर सञ्चालन गर्दै आएकी थिइन् । ‘२०४६ साल पछि पार्टीमा पद लिइनँ तर स्वास्थ्यको क्षेत्रमा धेरै काम गरें’, उनले भनिन् । महिला संघ काठमाडौंको प्रमुख सल्लाहकार उनी २०४६ पश्चात् निरन्तर छन् ।

यसैबीच, देशभर रहेका ६ वटा महानगरपालिकाको प्रमुखमा सहमति जुटाएको सत्तारुढ गठबन्धनले उपमेयरको भागवण्डा पनि मिलाएको छ । बेलुकी सकिएको सत्ता गठबन्धनको बैठकमा कांग्रेसलाई तीन र अरुलाई एक एकवटा महानगरको भागवण्डा गरेको हो ।

सहमति अनुसार काठमाडौ, ललितपुर र बिराटनगरमा मेयर पाएको कांग्रेसले पोखरा, वीरगञ्ज र भरतपुरको उपमेयरमा टिकट सुनिश्चित गरेको छ । यस्तै पोखराको मेयर निश्चित गरेको नेकपा एकीकृत समाजवादीले गठबन्धनका तर्फबाट काठमाडौंमा उपमेयरमा प्रतिष्पर्धा गर्ने भएका छन् ।

सहमतिअनुसार ललितपुरमा माओवादीका तर्फबाट उपमेयरका उम्मेदवार उठ्नेछन् भने बिराटनगरमा जसपाले उममेयरको टिकट सुनिश्चत गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस