Latest News

गठबन्धनमा सहमति : कुन महानगर र उपमहानगर कसलाई ?

Nepalese Times April 20, 2022 (1 Year ago)    757 Views

काठमाडौं – सत्ता गठबन्धनबीच महानगरपालिका र उपमहानगरपालिकामा लगभग बाँडफाँड मिलेको छ ।

सहमति अनुसार नेपाली काँग्रेसबाट महानगरपालिका मेयर काठमाडौं, ललितपुर र विराटनगरमा, भरतपुरमा माओवादी, पोखरामा नेकपा एकीकृत समाजवादी पार्टी र वीरगञ्जमा जनता समाजवादी पार्टीले मेयरको साझा उम्मेदवार बनाउने छन् ।

उपमेयरमा काठमाडौंमा नेकपा एस, ललितपुरमा माओवादी, विराटनगरमा जसपा र वीरगञ्ज, भरतपुर र पोखरामा काँग्रेसका साझा उम्मेदवार हुनेछन् ।

उपमहानगरपालिकामा  कांग्रेस ४, जसपा २, माओवादी केन्द्र ३, नेकपा एकीकृत समाजवादी २ बनाएर बाँडफाँट गर्ने तयारी छ। यद्यपि अन्तिम निर्णयका लागि नेताहरु छलफलमा छन्।

उपमहानगरपालिकाहरुमा धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर र धनगढीमा काँग्रेस, जितपुर सिमरा र घोराहीबाट माओवादी, हेटौंडामा नेकपा एसले मेयरको साझा उम्मेदवार उठाउने सहमति बनेको छ । नेपालगञ्जमा जसपाको दाबी छ । जनकपुरमा पनि कुरा मिल्न सकेको छैन ।

जितपुर सिमरा, हेटौंडा, घोराहीमा काँग्रेसबाट उपमेयर, धरान र धनगढीमा नेकपा माओवादी केन्द्रका उपमेयर, इटहरी, बुटबल र तुलसीपुरबाट नेकपा एसका उपमेयर र कलैयामा जसपाका उपमेयरका साझा उम्मेदवार हुनेछन् ।

२०७४ मा उपमहानगरपालिकाहरुमा धरान, इटहरी, जितपुर सिमरा, हेटौंडा, बुटवल, घोराही, तुलसीपुरबाट एमालेले मेयर र उपमेयर दुवै जितेको थियो । जनकपुरमा तत्कालीन तमलोपाले मेयर र उपमेयर नै जितेको थियो । काँग्रेसले कलैया र धनगढीमा मेयर र उपमेयर, नेपालगञ्जमा उपमेयर जितेको थियो ।

२०७४ मा ललितपुर र विराटगरबाट काँग्रेसले मेयर र उपमेयर, वीरगञ्जमा तत्कालीन संघीय समाजवादी पार्टी, भरतपुरमा माओवादीले मेयर जितेको थियो । काठमाडौंबाट एमालेले मेयर र पोखरामा मेयर र उपमेयर दुवै जितेको थियो । काँग्रेसले वीरगञ्ज, भरतपुर र काठमाडौंमा उमपेयर जितेको थियो ।

प्रतिक्रिया दिनुहोस