Latest News

भरतपुर माओवादीले पाउने भएपछि कांग्रेसबाट उम्मेदवारी घोषणा गरेका रिजालले दिए यस्तो प्रतिक्रिया

Nepalese Times April 20, 2022 (2 Year ago)    3750 Views

काठमाडौं । सत्तारुढ दलहरुबीच चितवनको भरतपुर महानगरपालिका माओवादी केन्द्रलाई दिने करीव सहमति भएसँगै भरतपुर कांग्रेसका नेताहरु रुष्ट छन् ।

उनीहरु अहिले पनि कुनै पनि हालतमा भरतपुर महानगरपालिका आफूहरुले छाड्न नसक्ने अडानमा रहेका छन् । कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भरतपुर महानगरपालिकाको नेतृत्व माओवादी केन्द्रलाई दिन गरेको प्रस्ताव चितवन कांग्रेसका सभापति राजेश्वर खनालले अस्वीकार गरेका छन् ।

देउवाले माओवादीलाई भरतपुर महानगर दिनुपर्ने अवस्था आएको भन्दै जिल्ला समितिले गरेको निर्णय सच्याउन आग्रह गरेका थिए ।

चितवन कांग्रेसको जिल्ला समिति बैठकले भरतपुरको प्रमुख नछाड्ने निर्णय गरेको थियो । सभापति देउवाले आग्रह गरे पनि कार्यकर्ताको भावना विपरीत आफूले निर्णय सच्याउन नसक्ने खनालको जवाफ थियो ।

खनालले केन्द्रीय समितिको निर्णय मान्न राजनीतिक हिसाबले बाध्य भए पनि जिल्लाको परिस्थिति आफू एक्लैले धान्न नसक्ने बताएका थिए ।

प्रधानमन्त्री एवम् पार्टी सभापति देउवाले नै भरतपुर महानगर माओवादी केन्द्रलाई दिनुपर्ने भनेपछि कांग्रेसबाट भरतपुरको मेयरमा उम्मेदवारी घोषणा गरेका निलकण्ठ रिजालले आफूहरु अन्तिम समयसम्म पनि कांग्रेसकै उम्मेदवारलाई अघि बढाउने पक्षमा रहेको बताएका छन् ।

नेप्लिज टाइम्ससँग कुरा गर्दै रिजालले भने, ‘हामीहरु अहिले पनि भरतपुर महानगरपालिका छाड्न तयार छैनौँ । कुनै पनि हालतमा हामी माओवादीलाई सहयोग गर्न तयार छैनौँ । तर, पार्टीले औपचारिक निर्णय गरेमा त्यसलाई स्वीकार गछौँ ।’

उनले पार्टीले नै औपचारिक निर्णय गरेर भरतपुर महानगरपालिका छाड्नुपर्ने भयो भने आफूले उम्मेदवारी मनोनयन दर्ता नगर्ने बताए । ‘नेपाली कांग्रेसमा मेरो लामो समयको राजनीतिक यात्रा छ । अब पार्टीले नै औपचारिक निर्णय गरेमा पार्टीले भनेको मान्नै पर्यो’, उनले भने, ‘पार्टीले नै ह्वीप जारी गर्यो भने म उम्मेदवारी दिन्नँ । तर अहिले नै हामीले भरतपुर छाडिहाल्ने भन्ने भएको छैन ।’

शिक्षा, स्वास्थ र पर्यटनमा मुलुककै केन्द्र बनाउने हाम्रो रहर, कृषिमा आत्मनिर्भर, प्राविधिक मैत्री हाम्रो भरतपुर महानगर’ भन्ने नारासहित उनले आफ्नो दाबेदारी प्रस्तुत गरेका  थिए ।

कांग्रेसको प्रमुख भातृ संस्था नेविसंघको केन्द्रीय राजनीतिमा लामो समय काम गरेर एक इमानदार र कुशल संगठनकर्ताको छवी बनाएका रिजाल विगत केहि वर्षदेखि जिल्ला केन्द्रित राजनीतिमा सक्रिय रहँदै आएका छन् ।

जिल्ला केन्द्रित राजनीतिसँगै भरतपुरको मेयरमा दाबी गरेपछि रिजालको नाम अहिले चितवन कांग्रेसभित्र चर्चामा रहेको छ । युवा नेता रिजाल लामो समय नेविसंघको केन्द्रीय सदस्य, सहमहामन्त्री, उपाध्यक्षमा जस्ता महत्वपूर्ण पदमा बसेर काम गरिसकेको छन् ।

बारम्बार राजनीतिमा अवसर पाउँदै गर्दा युवा सधैँ बहिस्कृत हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने उनको भनाइ छ । भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसबाट राजनीतिमा अगाडि बढेका रिजाल पछिल्लो समय चितवन कांग्रेसका सबै गतिविधिमा सरिक हुँदै आएका छन् ।

भरतपुरमै जन्मेर, भरतपुरकै माटोमा हुर्के बढेको हुनाले भरतपुरवासीको वास्तविक समस्या आफूले लामो समय अगाडिदेखि नै देखेको, बुझेको र प्रत्यक्ष अनुभव गर्ने अवसर पाएकाले महानगरवासीको मन जित्न सक्ने उनको दावी छ ।

देशको मध्य भागमा रहेको भरतपुरलाई देशकै नमुना शहर बनाउने आफूसँग स्पष्ट दृष्टिकोण र कार्ययोजना समेत रहेको उनले भन्दै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस