Latest News

सत्ता गठबन्धन बैठकः कुन उप-महानगर कसको भागमा ?

Nepalese Times April 19, 2022 (2 Year ago)    1029 Views

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले ११ उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख बाँडफाँटमा दुई विधि अगाडि सारेका छन्।

पहिलो २०७४ को स्थानीय तहकोनिर्वाचनमा जुन पार्टीले जितेको छ उसैलाई दिने, दोस्रो एमाले र स्वतन्त्रबाट जितेको बाँडफाँट गर्ने भन्ने विधि अगाडि सारिएको एक नेताले बताए ।

सोमबार बसेको स्थानीय निर्वाचन तयारी तथा अनुगमन समिति, शीर्ष नेताहरुको बैठकमा उपमहानगरपालिका टुंगो लगाउनका लागि दुई विधि अघि सारिएको हो ।

त्यसअनुसार अनुसार यसअघि कांगे्रसले जितेको ३, जनता समाजवादी पार्टीले जितेको १ उपमहानगरपालिका त्यही दलले पाउनेछ।

जितपुर–सिमरा, घोराही, तुल्सीपुर, मकवानपुरको हेटौँडा, सुनसरीको इटहरी, रुपन्देहीको बुटवल र बाँकेको नेपालगञ्ज उपमहानगरपालिका गठबन्धनमा रहेकामध्ये चार दललाई भागवण्डा हुनेछ।

कांग्रेस ४, जसपा २, माओवादी केन्द्र ३, नेकपा एकीकृत समाजवादी २ बनाएर बाँडफाँट गर्ने तयारी छ। यद्यपि अन्तिम निर्णयका लागि नेताहरु छलफलमा छन्।

त्यसो हुँदा कांग्रेसले यसअघि जितेको कलैया, धनगढी र धरानसँगै बुटबलको प्रमुख पाउने लगभग निश्चित रहेको एक नेताले बताए ।

माओवादी केन्द्रले दाङको घोराही, धरान, नेपालगञ्ज र जितपुर–सिमरागरी ४ उपमहानगरपालिका दाबी गरेको छ। तर, तीनवटाको बटम लाइन नछोड्ने माओवादीको अडान छ।

आफूहरुले जितपुर–सिमरा, घोराही र धरान दाबी गरेका माओवादी केन्द्रका प्रभावशाली एक नेताले बताए । संख्या ३ पाउने सहमति बनिसकेको अध्यक्षले जानकारी गराएका र स्थानको हकमा अन्तिमसम्म यताउता हुनसक्ने उनले बताए ।

माओवादी केन्द्रको मंगलबार बसेको कार्यालयको विस्तारित बैठकमा अध्यक्ष प्रचण्डले त्यसबारे जानकारी दिएका थिए । नेकपा एकीकृत समाजवादी पार्टीले हेटौडा र तुल्सीपुर उपमहानगरपालिका लिने बटम लाइन बनाएको छ। इटहरी पनि पाउनुपर्ने एकीकृत समाजवादीको अडान छ।

२०७४ मै जनकपुरधाम जितेको जनता समाजवादी पार्टी ले नेपालगञ्ज र कलैया उपमहानगरपालिका दाबी गरेको छ। तर, जसपाकै एक नेताले भने अन्तिममा कलैयाको दाबी छोड्ने बताए।

 

प्रतिक्रिया दिनुहोस