Latest News

एमालेले वीरगञ्ज महानगरपालिकामा गठबन्धन गर्ने, को हुन् साझा उम्मेदवार ?

Nepalese Times April 19, 2022 (2 Year ago)    656 Views

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले वीरगन्ज महानगरपालिकामा गठबन्धन गर्ने भएको छ । एमालेले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच वीरगञ्ज महानगरपालिकामा तालमेल गर्ने भएको हो ।

स्थानीय स्तरमा लगातार भइरहेको दुई दलबीचको छलफलले तालमेल अगाडि बढाउने अनौपचारिक सहमति गरेको हो ।

तर यो अनौपचारिक सहमतिलाई शीर्ष नेताहरुसहितको छलफलबाट टुंग्याइने एक नेताले बताएका छन् । तालमेलबारे छलफल अगाडि बढेको र ‘चाँडै टुंग्याउने प्रयास भइरहेको नेकपा एमालेका एक नेताले बताए ।

एमालेले वर्तमान मेयर विजय सरावगीलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । महानगर कमिटीबाट एकल रुपमा सिफारिस भएका सरावगीको नाम जिल्ला कमिटीले पनि अगाडि बढाएको छ ।

प्रदेश कमिटीमा पुगेको उनको नाम केन्द्रमा पठाउने तयारी भइरहेको छ । बाँकी उम्मेदवारबारे भने एमालेले कुनै निर्णय गरेको छैन ।

जसपा तत्कालीन संघीय समाजवादी फोरमका उम्मेदवार बनेर ०७४ को चुनावबाट १९ हजार ३९३ मत ल्याउँदै सरावगीले मेयर जितेका थिए । गएको २८ फागुनमा पार्टी प्रवेश गरेका सरावगीलाई नै एमालेले अगाडि बढाएको छ ।

एमाले र लोसपाका नेताहरुबीच भएको सहमति अनुसार लोसपालाई उपमेयरको उम्मेदवार दिन एमाले तयार भइसकेको छ । त्यसमा लोसपा नेतृत्व सहमत भए वीरगञ्ज महानगरमा तालमेल हुनेछ ।

०७४ को निर्वाचनमा वीरगञ्ज महानगरमा एमालेका उम्मेदवार बसरुद्धिन अन्सारीले आठ हजार ६८८ मत ल्याएका थिए । मेयर जितेका तत्कालिन संघीय फोरमका उम्मेदवार सराबगीले १९ हजार ३९३ र कांग्रेस उम्मेदवार अजय द्विवेदीले १७ हजार १९७ र माओवादी केन्द्रका उम्मेदवार रहबर अन्सारीले ८ हजार ३०५ पाएका थिए ।

प्रतिक्रिया दिनुहोस