Latest News

कास्की सभापतिसहितका नेताहरूलाई देउवाले किन बोलाए काठमाडौँ ?

Nepalese Times April 19, 2022 (2 Year ago)    484 Views

पोखरा महानगरपालिकामा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)ले दाबी नछाडेपछि सत्ता गठबन्धनमा सिट बाँडफाँट हुन सकेको छैन ।

कास्कीमा जिल्ला तहका कांग्रेसका नेताहरु कुनै हालतमा पोखरा मेयर छाड्न नसकिने अडानमा छन् भने एकीकृत समाजवादीले पनि आफूहरुले पोखरामा मेयर नपाए एमालेसँग मिल्न सक्ने चेतावनी दिइसकेको छ ।

कांग्रेस जिल्ला र पोखरा महानगर समितिका सचिवहरुले विज्ञप्ति नै जारी गरेर एकीकृत समाजवादीबाहेक दलसँग मात्रै गठबन्धन गर्ने बताएका छन् ।

कांग्रेसले पोखराको मेयरका लागि १८ र उपमेयरका लागि १० जनाको नाम संकलन गरेको छ । उनीहरुको सामान्य परिचयात्मक कार्यक्रम समेत भइसकेको छ भने आकांक्षीले पोखरा भिजन निर्माण गरिरहेका छन् । यही सन्दर्भमा कुरा गर्न कास्कीका नेताहरुलाई प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले काठमाडौँ बोलाएका छन् ।

प्रदेशका सभापति शुक्रराज शर्मा, जिल्ला सभापति किशोरदत्त बराल र पूर्वमन्त्री यज्ञबहादुर थापा जिल्लाको ब्रिफिङ गर्न अहिले काठमाडौँ हिँडेका छन् । ‘उहाँ (सभापति)ले बोलाउनुभएको छ । हामीले अहिलेसम्म गरेका निर्णय र भएका प्रगतिबारे रिपोर्टिङ गर्छौं,’ सभापति बरालले भने, ‘किन बोलाउनुभयो भन्ने थाहा छैन । चुनावी विषय नै होला भनेर हामी तयार भएर आएका छौं ।’

उनले पोखराको मेयर कांग्रेसले नै पाउनुपर्ने अडानमा आफूहरु रहेको उनले बताए ।

अघिल्लो साता जिल्लाका झन्डै १ सय नेता कार्यकर्ताले केन्द्रीय पार्टी कार्यालय पुगेर देउवालाई भेटेका थिए । त्यतिबेला भने देउवाले महानगरका विषयमा कुनै निर्णय नभएको भन्दै जिल्ला फर्कन निर्देशन दिएका थिए । अहिले उनैले बोलाएपछि काठमाडौँ हिँडेको बरालले बताए ।

प्रतिक्रिया दिनुहोस