Latest News

सत्ता गठबन्धन बैठक : कुन महानगर र उपमहानगर कसलाई ? यस्तो छ तयारी

Nepalese Times April 19, 2022 (2 Year ago)    575 Views

काठमाडौँ – सत्ता गठबन्धनको बैठक बिहान ११ बजे बस्दैछ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार निर्णायक बैठक मंगलबार बिहानेका लागि बोलाइएको हो ।

सोमबार दिनभरजसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक सहमति नजिक पुगेको मन्त्री कार्कीको भनाइ छ ।

महानगर, उपमहानगरपालिका र स्थानीय तहमा तालमेलको निर्णय गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक सोमबार दुई चरणमा बसेको थियो । बैठक सहमति नजिक पुगेको बताइए पनि निर्णय सार्वजनिक भइसकेको छैन ।

बैठकमा वैशाख ३० गतेको स्थानीय तहको चुनावका लागि महानगर, उपमहानगर र नगरपालिकामा हुने तालमेलको मोडालिटी बने पनि त्यसलाई अन्तिम रुप दिन बाँकी रहेको सञ्चारमन्त्री कार्कीले बताए ।

काँग्रेसले काठमाडौं, ललितपुर विराटनगर र पोखरामा पनि दाबी गरेको छ । तर, एकीकृत समाजवादीले पोखरामा दाबी गरिरहेको छ । माओवादी केन्द्रले भरतपुर महानगर र जनता समाजवादीले विराटनगर पाउने करिब करिब सहमति जुटिसकेको बुझिएको छ ।

यस्तै काँग्रेसले ११ उपमहानगरको प्रमुख लिएर उपप्रमुख माओवादी, एकीकृत समाजवादी र जसपालाई दिने प्रस्ताव राखेको छ । तर माओवादी केन्द्रले घोराही र जितपुर सिमरा, समाजवादीले हेटौंडा तुलसीपुर र इटहरीमा दाबी गरेको छ । यस्तै जसपाले जनकपुर, नेपालगन्ज र कलैया उपमहानगरपालिका प्रमुख मागेको छ ।

सोमबारको बैठकमा ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाका वडासमेतको वस्तुगत स्थितिबारे छलफल भएको र  मंगलबार त्यसलाई अन्तिम रूप दिने सहमति गरिएको छ।

प्रतिक्रिया दिनुहोस