Latest News

एमसीसी पास भएसँगै अमेरिकाका यी चार सांसद एकैपटक किन आउंदै छन् नेपाल ?

Nepalese Times April 19, 2022 (2 Year ago)    722 Views

संयुक्त राज्य अमेरिकाका चार जना सांसद आउँदो शुक्रबार नेपाल भ्रमणमा आउने भएका छन्।

सिनेटर कस्र्टन गिलिब्रान्डको नेतृत्वमा सिनेटर कोरी बुकर, सिनेटर मार्क केली र प्रतिनिधि सभा सदस्य मोन्डेअर जोन्स छन्। टोलीमा अमेरिकी विदेश मन्त्रालयका केही अधिकारी पनि रहने बताइएको छ। यो भ्रमणको रणनीतिक महत्व रहेको अधिकारीहरु बताउँछन्।

स्रोतका अनुसार अमेरिकी सांसदको टोली आइतबारसम्म नेपालमा रहनेछ। उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का र जिभिन्न राजनीतिक दलका नेता र सांसदसँग भेटवार्ता गर्नेछन्।

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट नेपालको संसदबाट अनुमोदन भएलगत्तै अमेरिकाका तर्फबाट भ्रमण बाक्लिन थालेको हो। चीनको प्रभाव रोक्न र अमेरिकी प्रभाव विस्तारका लागि अमेरिकी सांसदको नेपाल भ्रमण हुन लागेको चर्चा कूटनीतिक वृत्तमा छ।

अहिले दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी उप–सहायक विदेशमन्त्री केली किडरलिङ नेपाल भ्रमणमा छिन्।

उनले सोमबार परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गरेकी छन्। मंगलबार उनी लुम्बिनी जानेछिन्। अमेरिकी उप-सहायक विदेशमन्त्री किडरलिङ भ्रमण सकेर फर्केको चार दिनपछि अमेरिकी सांसदको टोली नेपाल आइपुग्नेछ।

। अमेरिकी सांसद टोलीले आफ्नो भ्रमण दुई वटा विषयमा केन्द्रित रहने उल्लेख गरेको छ। भ्रमण टोलीले आइतबार जारी गरेको वक्तव्य अनुसार भ्रमणको पहिलो उद्देश्य युक्रेन मामिलामा समर्थन जुटाउनु हो भने दोश्रो सम्बन्धित मुलुकसँग अमेरिकाको द्विपक्षीय सम्बन्ध थप विस्तार गर्नु हो।

भ्रमण नेपाल केन्द्रित भने होइन। पाँच मुलुकको नौ दिने यात्रामा अमेरिकी सांसद निस्केका हुन्। अमेरिकी सांसदहरु दक्षिणी छिमेकी भारत भ्रमणपछि काठमाडौँ आउनेछन्। भारतअघि उनीहरु युरोपेली मुलुक पोल्यान्ड र जर्मनी तथा खाडी मुलुक संयुक्त अरब एमिरेट्स भ्रमणमा जानेछन्।

अमेरिकी सांसद टोलीले भ्रमणअघि वक्तव्य जारी गर्दै विश्वमा बढ्दो तनावबीच पोल्यान्ड, संयुक्त अरब एमिरेट्स, भारत, नेपाल र जर्मनीको भ्रमणमा जान लागेको जनाएको छ।

‘यो सशक्त कंग्रेसनल डेलिगेसनले पोल्यान्डस्थित अमेरिकी सैन्य नेतृत्व र सैनिक जवानहरुसँग भेटवार्ता गर्नेछ। अमेरिका र नेटो गठबन्धनमा रहेका मुलुक मिलेर रुसले युक्रेनमाथि नाजायज र अन्यायपूर्ण रुपमा गरेको हमलाका विरुद्ध कसरी काम गर्न सक्छन् भन्नेबारे बुझ्नेछ। अहिलेको विश्वव्यापी तनावबीच कंग्रेसनल डेलिगेसनले पोल्यान्ड, युएई, इन्डिया, नेपाल र जर्मनीका नेताहरुसँग भेटेर सम्बन्ध सुदृढ गर्नेबारे पनि छलफल गर्नेछ,’ वक्तव्यमा भनिएको छ।

अमेरिकी दबाब तथा उत्तरी छिमेकी चीनको सार्वजनिक असन्तुष्टिबीच नेपालको संसदले अमेरिकी सहयोग परियोजना एमसीसी अन्तर्गतको ५० अर्ब डलरको अनुदान सम्झौता गत फेब्रुअरी अन्तिम साता अनुमोदन गरेको थियो। एमसीसी अनुमोदनअघि चीनले जबरजस्ती नेपाललाई अनुदान नथोपर्न अमेरिकालाई चेतावनी दिएको थियो भने अमेरिकाले एमसीसी सम्झौता पास हुन दिन चीनले भित्रभित्रै भूमिका खेलेको आरोप लगाएको थियो। नेपाल मामिलामा दुई विश्व शक्तिबीच भएको आरोप प्रत्यारोपलाई उनीहरुबीचको विश्वव्यापी टकरावको एक हिस्साको रुपमा लिइएको थियो।

प्रतिक्रिया दिनुहोस