Latest News

मध्यरातमा केपी ओलीको घरमा बैठक, के–के भयो निर्णय ?

Nepalese Times April 19, 2022 (2 Year ago)    1242 Views

काठमाडौं । सरकारले ३० वैशाख २०७९ का लागि तोकिएको स्थानीय तहको निर्वाचन सार्ने षड्यन्त्र गरेको आभाष भएको नेकपा एमालेले निष्कर्ष निकालेको छ ।

केपी शर्मा ओलीको निवास, बालकोटमा गएराति बसेको बैठकले त्यसको कडा प्रतिवाद गर्ने र सरकारको षड्यन्त्रलाई निस्तेज पारेर जाने निर्णयसमेत गरेको छ ।

बैठकले चुनावबारे अलमलमा नपर्न र तयारीमा जुट्न समेत पार्टी कमिटीहरुलाई भनेको उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।

बैठकले घोषणा पत्र तयारी मस्यौदा समितिले पेश गरेको घोषणापत्र अनुमोदन गरेको छ । घोषणापत्र तयारीका लागि पार्टीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा समिति गठन गरेको थियो ।

एमालेले यही वैशाख ९ गते शुक्रवार केन्द्रमा घोषणापत्र र पालिकास्तरमा प्रतिबद्धतापत्र सार्वजनिक गर्ने तयारी गरेको छ । ९ वैशाखमा नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर सार्वजनिक गरिने उनले बताए ।

बैठकले स्थानीय जनप्रतिनिधिका लागि सिफारिस भएकाहरुको नाम प्रतिनिधिसभा, राष्ट्रियसभाको समानुपातिक सूचीबाट हटाउन निर्वाचन आयोगलाई पत्र लेख्ने निर्णयसमेत गरेको छ ।

यस्तै बैठकले एक सय ७३ सदस्यीय केन्द्रीय सल्लाहकार परिषद्लाई विस्तार गरेर २७८ सदस्यीय पुर्याएको छ । त्यस्तै, बैठकले थप १२ केन्द्रीय विभागलाई पूर्णता दिनुका साथै केन्द्रीय सम्पर्क समन्वय कमिटीमा ५१ जनालाई मनोनीत गरेको छ ।

यस्तै एमालेले स्थानीय तह निर्वाचनका लागि बिभिन्न पालिका र जिल्लाबाट सिफारिस भएका नामहरु समानुपातिकतर्फका बन्द सूचीका उम्मेदवारहरु समेत रहेकाले उनीहरुको नाम सूचीबाट हटाउने निर्णय गरेको छ ।

सोमवार राति सम्पन्न केन्द्रीय सचिवालय बैठकले विभिन्न पालिका र जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ बन्द सूचीमा उम्मेदवार रहेका व्यक्तिहरुको पनि नाम सिफारिस भएकाले ती व्यक्तिको नाम सूचीबाट हटाउन निर्वाचन आयोगलाई लेखेर पठाउने निर्णय भएको हो ।

प्रतिक्रिया दिनुहोस