Latest News

महानगरपालिकाकोे उपमेयरमा प्रचण्डकी बुहारीको पनि दाबी, राजनीतिक वृतमा नयाँ तरंग

Nepalese Times April 18, 2022 (2 Year ago)    816 Views

काठमाडौं । नेकपा माओवादी केन्द्रको पोखरा महानगर कमिटीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी सिर्जना त्रिपाठीलाई उपप्रमुखको उम्मेदवारमा सिफारिस गरेको छ ।

सोमबार बसेको महानगर कमिटीको पूर्ण बैठकले पोखराको प्रमुख र उपप्रमुखमा ३–३ जनाको नाम सिफारिस गर्दा प्रचण्डकी बुहारी त्रिपाठीको पनि नाम परेको हो ।

सिफारिस गरिएको पोखराको प्रमुखका लागि बखानसिंह गुरुङ, विश्वप्रकाश लामिछाने र सीता खड्काको नाम परेको छ । उपप्रमुखमा भने त्रिपाठीसहित गोमा ढकाल र सूर्यप्रकास तिवारीको नाम सिफारिसगरिएको महानगर कमिटी ले जनाएको छ । पती जीवन दाहाल निधन पति त्रिपाठी पोखरामा बसेर पार्टी राजनीतिमा सक्रिय हुँदै आएकी छन् ।

यस्तै पोखरा महानगरपालिकामा भागबण्डाको विषयमा सहमति जुट्न नसक्दा सत्ता गठबन्धनको बैठक विनानिष्कर्ष सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा पोखरा महानगरपालिकामा नेकपा एकीकृत समाजवादी र काँग्रेसले आ–आफ्नो दाबी नछाड्दा सहमति जुट्न नसकेको हो ।

पोखरा महानगरको मेयर दाबी गरिरहेको नेकपा एकीकृत समाजवादी पार्टीलाई नेपाली कांग्रेसले वडा सदस्य पनि दिन नसकिने बताएको छ ।पोखरामा सोमबार बिहान बसेको गठबन्धन बैठकमा कांग्रेसले उक्त अडान राखेको थियो । अब एकीकृत समाजवादीलाई चुनावमा समेट्न नसक्ने कांग्रेस कास्कीका सचिव भानु ढकालले बताएका थिए ।

उनले भने, ‘पोखराको मेयर, उपमेयर मात्र होइन, हाम्रो पार्टीको इकाइ समितिहरुले समाजवादीलाई वडा सदस्य पनि दिन नसक्ने निर्णय पठाएका छन् । गठबन्धनको आजको बैठकमा यसबारे प्रष्ट जानकारी गराएका छौं।’

कास्कीमा पोखरा महानगर र चारवटा गाउँपालिका छन्। जिल्लाभर ७२ वटा वडा छन्। एक जना वडा सदस्य पनि दिन नसक्ने भन्दै कांग्रेसले मित्रवत प्रतिश्पर्धा गर्न आग्रह गरेको सचिव ढकालले बताए।

समाजवादीले पोखरा महानगरको मेयर आफूले पाउनुपर्ने भन्दै केन्द्रमा दवाब बढाइरहेको छ। समाजवादीका अध्यक्ष माधव नेपालले केही दिन अघि पोखरामा ८ हजार पार्टी सदस्य रहेको र जनवर्गीय संगठनमा आवद्धसमेत जोड्दा १२ हजार पुग्ने भन्दै आफुहरुलाई कमजोर नआँक्न चेतावनी दिएका थिए।

एकीकृत समाजवादी गठबन्धनमा नरहने भएकाले अब मेयरसहित पालिका प्रमुखहरुमा कांग्रेसकै उम्मेदवार उठ्ने सचिव ढकाललले बताएका छन् ।

यहि विषयमा बालुवाटार बैठकमा पनि कुरा उठेको थियो । बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले मेयर आफूहरुले पाउनुपर्ने भनेपछि कांग्रेसका नेताहरुले त्यसको विरोध गरेका थिए । त्यसलगत्तै बैठक भाँडिएको हो ।

अन्य महानगरपालिकाको विषयमा भने सहमति जुटेको बैठकपछि एक नेताले जानकारी दिए । ती नेताका अनुसार चितवनको भरतपुर महानगरपालिका माओवादीलाई दिने सहमति भएको छ । यस्तै जसपालाई वीरगन्ज तथा बाँकी महानगरपालिका काँग्रेसले लिने गरी भागबण्डामा सहमति जुटेको छ ।

पोखराकै विषयमा सहमति नजुटेपछि पुनः होमवर्क गरेर मंगलबार बस्नेगरी आजको बैठक सकिएको ती नेताको भनाइ छ । महानगरको विषय टुंगिए पनि उपमहानगरपालिकाको भागबण्डामा सहमति जुटाउन प्रयास हुने गठबन्धनका नेताहरुले बताएका छन् ।

महानगर र उपमहानगरपालिकामा तालमेल गर्न गठबन्धन दलहरु सहमति नजिक पुगेको बैठक पछि सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस