Latest News

कांग्रेसले माधव नेपाललाई वडा सदस्यसमेत दिन्नौँ भनेपछि यसरी भाँडियो बालुवाटारको बैठक

Nepalese Times April 18, 2022 (2 Year ago)    752 Views

काठमाडौं । पोखरा महानगरपालिकामा भागबण्डाको विषयमा सहमति जुट्न नसक्दा सत्ता गठबन्धनको बैठक विनानिष्कर्ष सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा पोखरा महानगरपालिकामा नेकपा एकीकृत समाजवादी र काँग्रेसले आ–आफ्नो दाबी नछाड्दा सहमति जुट्न नसकेको हो ।

पोखरा महानगरको मेयर दाबी गरिरहेको नेकपा एकीकृत समाजवादी पार्टीलाई नेपाली कांग्रेसले वडा सदस्य पनि दिन नसकिने बताएको छ ।पोखरामा सोमबार बिहान बसेको गठबन्धन बैठकमा कांग्रेसले उक्त अडान राखेको थियो । अब एकीकृत समाजवादीलाई चुनावमा समेट्न नसक्ने कांग्रेस कास्कीका सचिव भानु ढकालले बताएका थिए ।

उनले भने, ‘पोखराको मेयर, उपमेयर मात्र होइन, हाम्रो पार्टीको इकाइ समितिहरुले समाजवादीलाई वडा सदस्य पनि दिन नसक्ने निर्णय पठाएका छन् । गठबन्धनको आजको बैठकमा यसबारे प्रष्ट जानकारी गराएका छौं।’

कास्कीमा पोखरा महानगर र चारवटा गाउँपालिका छन्। जिल्लाभर ७२ वटा वडा छन्। एक जना वडा सदस्य पनि दिन नसक्ने भन्दै कांग्रेसले मित्रवत प्रतिश्पर्धा गर्न आग्रह गरेको सचिव ढकालले बताए।

समाजवादीले पोखरा महानगरको मेयर आफूले पाउनुपर्ने भन्दै केन्द्रमा दवाब बढाइरहेको छ। समाजवादीका अध्यक्ष माधव नेपालले केही दिन अघि पोखरामा ८ हजार पार्टी सदस्य रहेको र जनवर्गीय संगठनमा आवद्धसमेत जोड्दा १२ हजार पुग्ने भन्दै आफुहरुलाई कमजोर नआँक्न चेतावनी दिएका थिए।

एकीकृत समाजवादी गठबन्धनमा नरहने भएकाले अब मेयरसहित पालिका प्रमुखहरुमा कांग्रेसकै उम्मेदवार उठ्ने सचिव ढकाललले बताएका छन् ।

यहि विषयमा बालुवाटार बैठकमा पनि कुरा उठेको थियो । बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले मेयर आफूहरुले पाउनुपर्ने भनेपछि कांग्रेसका नेताहरुले त्यसको विरोध गरेका थिए । त्यसलगत्तै बैठक भाँडिएको हो ।

अन्य महानगरपालिकाको विषयमा भने सहमति जुटेको बैठकपछि एक नेताले जानकारी दिए । ती नेताका अनुसार चितवनको भरतपुर महानगरपालिका माओवादीलाई दिने सहमति भएको छ । यस्तै जसपालाई वीरगन्ज तथा बाँकी महानगरपालिका काँग्रेसले लिने गरी भागबण्डामा सहमति जुटेको छ ।

पोखराकै विषयमा सहमति नजुटेपछि पुनः होमवर्क गरेर मंगलबार बस्नेगरी आजको बैठक सकिएको ती नेताको भनाइ छ । महानगरको विषय टुंगिए पनि उपमहानगरपालिकाको भागबण्डामा सहमति जुटाउन प्रयास हुने गठबन्धनका नेताहरुले बताएका छन् ।

महानगर र उपमहानगरपालिकामा तालमेल गर्न गठबन्धन दलहरु सहमति नजिक पुगेको बैठक पछि सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताए ।

बैठकमा काँग्रेसबाट सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्र कार्की, माओवादीबाट अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, देव गुरुङ, एकीकृत समाजवादीबाट माधव नेपाल, वेदुराम भुसाल, विजय पौडेल, जसपाबाट बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, जनमोर्चा हिमाल पुरीलगायत सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस