Latest News

सत्ता गठबन्धनको बैठक सकियो, महानगर र उपमहानगरको उम्मेदवारबारे के-के भयो निर्णय ?

Nepalese Times April 18, 2022 (2 Year ago)    1153 Views

काठमाडौं । सत्ता गठबन्धनको बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा  महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवारमा भागवण्डा टुंग्याउने उद्देश्यले बसेको सत्तारुढ गठबन्धनको बैठकमा सोमबार पनि सहमति जुटेन ।

विहान र साँझ गरी दुई पटक बसेको गठबन्धनका शीर्ष नेताको बैठकले सहमति जुटाउन नसकेपछि मंगलबार पुन बैठक बस्ने बैठकमा सहभागी कांग्रेस नेता तथा मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । सबै ठाउँमा सहमति जुटाउन नसकेपछि भोलि साढे ११ बजे बैठक बसेर टुंग्याउँने उनले बताए ।

आसन्न स्थानीय निर्वाचनमा सत्तारुढ दलहरुबीच महानगर र उपमहानगरको नेतृत्व बाँडफाँटमा मंगलबार सहमति जुट्ने दावी सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गरेका छन् ।

बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै प्रवक्ता कार्कीले ६ वटा महानगर र ११ वटा उपमहानगरको प्रमुख र उपप्रमुखबारे सहमति नजिक पुगेको बताएका हुन् । उनले मंगलबार साढे ११ बजे गठबन्धनको बैठक बस्ने र सहमतिको खाका सार्वजनिक हुने बताए ।

‘हामी समग्ररुपमा सहमतिको नजिक पुगेका छौं । भोलि साढे ११ बजेको बैठकपछि मैले तपाईहरुलाई सहमतिको खाका सुनाउनेछु । गठबन्धनमा सबैकुरा सकरात्मक भइरहेको छ’, मन्त्री कार्कीले भने । सबै महानगर र उपमहानगगरबारे वस्तुनिष्ठ छलफल भइरहेको भन्दै मन्त्री कार्कीले मंगलबार सुखद परिणाम आउने दावी गरेका हुन् ।

आजको गठबन्धन बैठकमा साझा चुनाव चिन्ह लिएर लड्ने सहमति पनि जुटेको एक नेताले बताए ।  जुन पालिकामा जसको प्रमुखमा उम्मेदवारी हुने हो, त्यही दलको चुनाव चिह्नमा पाँचै दल सहभागी हुने निर्णय भएको उनको भनाइ छ ।

यस्तै प्रस्तावित भागबण्डा अनुसार नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगरको मेयर पद पाउने भएको छ । यस्तै माओवादी केन्द्रलाई भरतपुर महानगरपालिका, एकीकृत समाजवादीलाई पोखरा महानगरपालिका, र जनता समाजवादी पार्टी ९जसपा० लाई विरगन्ज महाननगरपालिकाको मेयर दिने मोटामोटी सहमति जुटेको छ ।

यस्तै धरान उपमहानगरपालिकामा कांग्रेस, ईटहरी उपमहानगरपालिकामा समाजवादी, जनकपुरमा कांग्रेस, जितपुर सिमरामा माओवादी, कलैयामा जसपा, हेटौंडामा समाजवादी, बसटवलमा कांग्रेस, घोराहीमा कांग्रेस, तुलसीपुरमा कांग्रेस, नेपालगन्जमा कांग्रेस र धनगढीमा कांग्रेसलाई मेयरको उम्मेदवार बनाउने मोटामोटी सहमति भएको छ ।

यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनका पाँच दलबीच तालमेल गर्ने सहमति भइसकेको भए पनि सिट भागबन्डामा अझै कुरा मिल्न सकेको छैन।

सोही विषयमा छलफल गर्न  प्रधानमन्त्रीको सरकारी निवासमा गठबन्धनका शीर्ष नेतासहितको बैठक बसेको हो । जारी बैठकले महानगर र उपमहानगरका प्रमुख र उपप्रमुख पदमा ककसले उम्मेदवारी दिने भन्ने विषयमा निर्णय गर्ने भनेर यसअघि नै नेताहरुले बताएका छन्।

पटकपटक बैठक बसे पनि उनीहरूले आपसमा स्थानीय तहको सिट बाँडफाँडको टुंगो लगाउन सकेका छैनन्। आइतबार बसेको बैठक पनि बिनानिष्कर्ष सकिएको थियो।

प्रतिक्रिया दिनुहोस