Latest News

पोखरा महानगरमा पनि कांग्रेसले तोड्यो गठबन्धन, एकीकृत समाजवादीलाई धक्का

Nepalese Times April 18, 2022 (1 Year ago)    592 Views

नेपाली कांग्रेसले कास्कीमा नेकपा एकीकृत समाजवादीसँग तालमेल नगर्ने निर्णय गरेको छ।

कांग्रेस जिल्ला कार्यसमिति कास्कीका सचिवद्वय देवेन्द्र रानाभाट र भानुभक्त ढकालले सोमबार एक विज्ञप्ति जारी गर्दै वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा गठबन्धन गर्नेबारे भएको छलफलमा एकीकृत समाजवादीको अस्वभाविक दाबीका कारण तालमेल गर्न नसकिने निर्णय गरिएको जनाएका छन्।

बालुवाटारमा जारी पाँच दलीय गठबन्धनको बैठकमा समाजवादीले कुनै हालतमा पोखराको मेयरको टिकट चाहिने अड्डी कसेको छ।

यस्तोमा पाँच दलबीच कांग्रेसले तीन महानगर राख्ने भएको छ। यदि सहमति भएमा कांग्रेसले विराटनगर, काठमाडौं र ललितपुर महानगर राख्नेछ।

त्यस्तै माओवादीले भरतपुर महानगर, एकीकृत समाजवादीले पोखरा महानगर र जनता समाजवादीले वीरगञ्ज महानगरपालिका लिनेछ।

केन्द्रको नेतृत्वले सहमति जुटाउन नसकिरहेका बेला पोखरामा महानगरमा भने कांग्रेसले एकीकृत समाजवादीसँग मित्रवत प्रतिष्पर्धा गर्ने र एक्ला एक्लै हिँड्ने निर्णय गरिसकेको छ।

कांग्रेसका जिल्ला सचिवद्वय देवेन्द्र रानाभाट र भानुभक्त ढकालले सोमबार एक वक्तव्य निकाल्दै अब समाजवादीसँग मित्रवत प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्।

मिति २०७८/१२/२९ गते सम्माननीय प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति श्री शेर वहादुर देउवा ज्यूको अध्यक्षतामा वसेको ५ दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकको निर्णय र निर्देशन बमोजिम यही वैशाख ३० गते हुने ‘ ‘केन्द्रको निर्देशनअनुसार स्थानीय निर्वाचनका सन्दर्भमा सत्ता गठबन्धनका दलहरूसँग पटक पटक लामो छलफल र बहसका साथै तालमेल गरेर जाने सन्दर्भमा भरपूर प्रयत्न गरियो’, उनीहरुले भनेका छन्, ‘जिल्ला संयन्त्रबाट तालमेल गर्ने सम्बन्धमा कास्कीमा व्यापक छलफल हुँदा पनि एकीकृत समाजवादीको अस्वभाविक दावीका कारण निष्कर्ष निस्कन सकेन।’

उनीहरुले पार्टीका मातहतका निकायहरुको राय सुझावलाई समेत मध्यनजर गरी गठबन्धनका अन्य दलसँग तालमेलका लागि वार्ता र सम्वाद अगाडि बढाउने घोषणा गरेका छन्।

‘नेकपा एकीकृत (समाजवादी) सँग स्थानीय निर्वाचनमा मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धा सहित जाने निर्णय गरियो’, कांग्रेसको निर्णयमा भनिएको छ, ‘पोखरा महानगर पालिकाको प्रमुखका सम्बन्धमा सञ्चारमाध्यममा आएको हल्ला पछाडि नलाग्नु हुन पार्टीका सम्पूर्ण साथीहरुलाई हार्दिक अपील गर्दछौँ।’

एकीकृत समाजवादी कास्कीका अध्यक्ष धनराज आचार्यले केन्द्रमा गठबन्धनको बैठक बसिरहेको बताउँदै कुनै निर्णय नभएको उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस