Latest News

भरतपुरमा कांग्रेसले पेल्न खोजे माओवादी एक्लै चुनाव लड्ने प्रचण्डको घोषणा

Nepalese Times April 18, 2022 (2 Year ago)    1042 Views

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा सहमति नजुटे आफूहरु एक्लै चुनावमा जाने बताएका छन् । पेरिसडाँडामा जारी पत्रकार सम्मेलनमा उनले आफूहरुले ६ वटा महानगरपालिकामध्ये १ वटा महानगरपालिकामा आफूहरुको दाबी रहेको र सहमति नभए एक्लै चुनावमा जाने बताए ।

उनले आफूहरुले एउटा मात्रै महानगरपालिकामा दाबी गरेको र भरतपुर महानगरपालिका दिएमा आफूहरुलाई अलि सजिलो हुने देखिएकोले आफूहरुले भरतपुर चाहिने भनेको बताए ।

यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन नसर्ने बताएका छन् । पत्रकार सम्मेलनमा प्रचण्डले निर्वाचन सर्ने प्रयास अनुमान मात्र भएको भन्दै भने, ‘निर्वाचन सन्दैन । गठबन्धनमा निर्वाचन सार्नेबारे कुनै तर्क वितर्क भएको छैन । हामी निर्वाचनमा केन्द्रित भएर लागेका छौं ।’

प्रचण्डले सरकार र सरकारमा रहेका कुनै पनि दल निर्वाचन सार्ने मनसायमा नरहेको भन्दै उनले सत्तारुढ गठबन्धन सम्पूर्ण रुपले निर्वाचनमा होमिइसकेको बताए ।

यस्तै उनले साझा चुनाव चिन्हबारे छलफल भइरहेको स्वीकार गरेका छन् । तर आसन्न स्थानीय निर्वाचनमा त्यो सम्भावना कम रहेको उनले बताएका छन् ।

यस्तै प्रचण्डले सत्तारुढ गठबन्धन महानगरपालिकाको चुनावी तालमेलमा सहमति नजिक रहेको बताएका छन् । उनले महानगरपालिकाको तालमेल सहमति नजिक रहेको र आजै सहमति जुट्ने दावी गरे ।

उनले भने, ‘६ वटा महानगरपालिका र ११ उपमहानगरपालिकामा गठबन्धनको बीचमा समझदारी बनाउने प्रयासमा छौ । महानगर टुंगिनेको नजिक पुगेको छ । अब यहाँबाट सिधै गठबन्धनको बैठकमा जाने हो । बेलुकासम्म महानगरपालिका र उपमहानगरपालिकामा तालमेल निष्कर्षमा पुग्छौं ।’

यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनका पाँच दलबीच तालमेल गर्ने सहमति भइसकेको भए पनि सिट भागबन्डामा अझै कुरा मिल्न सकेको छैन।

सोही विषयमा छलफल गर्न अहिले प्रधानमन्त्रीको सरकारी निवासमा गठबन्धनका शीर्ष नेतासहितको बैठक बसिरहेको हो । जारी बैठकले महानगर र उपमहानगरका प्रमुख र उपप्रमुख पदमा ककसले उम्मेदवारी दिने भन्ने विषयमा निर्णय गर्ने भनेर यसअघि नै नेताहरुले बताएका छन्।

पटकपटक बैठक बसे पनि उनीहरूले आपसमा स्थानीय तहको सिट बाँडफाँडको टुंगो लगाउन सकेका छैनन्। आइतबार बसेको बैठक पनि बिनानिष्कर्ष सकिएको थियो।

आईतबार राति कार्यदलले तयार पारेको ड्राफ्ट अहिले बिहान बालुवाटारको शीर्ष नेताको बैठकमा पेस गरिएको थियो । जसअनुसार घोराहीका लागि माओवादीको दाबी भने जारी छ ।

इटहरीमा कांग्रेसले समाजवादीलाई छोड्न लचिलो भएको एक नेताले बताए । राप्रपासँग तालमेल भयो भने उसलाई नेपालगञ्ज दिने कुरा पनि गठबन्धनबीचमा चलेको छ ।

प्रतिक्रिया दिनुहोस