Latest News

चुनावको मुखमा माओवादी केन्द्रका केन्द्रीय सदस्य गौतमले किन दिए राजीनामा ?

Nepalese Times April 18, 2022 (2 Year ago)    658 Views

नीय तह निर्वाचनको मुखमा नेकपा माओवादी केन्द्रका दाङ जिल्ला इन्चार्ज जीवन गौतमले राजीनामा दिएका छन्।

सोमबार घोराहीमा पत्रकार सम्मेलन गरेर उनले माओवादीको दाङ इन्चार्ज तथा पार्टीको साधारण सदस्यबाटै राजीनामा दिएका हुन्। उनी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत हुन् ।

यो पटकको निर्वाचनमा घोराही उपमहानगरपालिकाको मेयर पदमा उठ्न चाहेका उनले टिकट नपाउने भएपछि पार्टी छाडेका हुन्। उनले आफूलाई पार्टीले टिकट नदिने भएको बताउँदै माओवादीले गैरकम्युनिष्ट चरित्र देखाएको पनि गुनासो गरे।

उनले नेकपा माओवादी केन्द्रमा लामो समय गुटबन्दी र गैर कम्युनिष्ट चरित्र बढ्दै गएपछि आफूले पार्टी भित्र बस्न नचाहेको बताए । ‘निर्वाचनको मुखमा यो प्रवृति झन् बढ्दै गएपछि मैले स्वाभिमान जोगाउन पार्टी परित्याग गर्ने निर्णयमा पुगे’ उनले भने ।

माओवादीले अमेरिकी सहायता परियोजना एमसिसी पनि जबरजस्ती पारित गरेको जनाउँदै त्यसमा आफ्नो आपत्ति रहेको पनि उनले उल्लेख गरेका छन्।

माओवादीमा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठनिकट उनी यो पटक मेयरका दाबेदार थिए। तर माओवादीले घोराहीमा जिल्ला सह-इन्चार्ज हेमराज शर्मालाई टिकट दिने भएको छ। उनी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता कृष्णबहादुर महरासँग निकट छन्।

गौतम २०७४ मा पनि घोराहीको मेयरमा उठेका थिए। तर उनी त्यसबेला एमाले उम्मेदवारसँग पराजित भएका थिए। त्यतिबेला पराजित भएका उनी मतका हिसाबले तेस्रो स्थानमा रहे । माओवादी छाडेका उनले तत्कालै कतै नजाने बताएका छन्।

प्रतिक्रिया दिनुहोस