Latest News

गठबन्धन बैठकः एकीकृत समाजवादीलाई समेट्न नसक्ने कांग्रेसको जवाफ, तनावमा माधव नेपाल

Nepalese Times April 18, 2022 (2 Year ago)    764 Views

काठमाडौं । नेपाली कांग्रेसले पोखरा महानगरको मेयर दाबी गरिरहेको नेकपा एकीकृत समाजवादी पार्टीलाई वडा सदस्य पनि दिन नसकिने बताएको छ ।

पोखरामा सोमबार बिहान बसेको गठबन्धन बैठकमा कांग्रेसले उक्त अडान राखेको हो। कांग्रेस कास्कीका सचिव भानु ढकालले अब एकीकृत समाजवादीलाई चुनावमा समेट्न नसक्ने जानकारी गराएको बताए।

उनले भने, ‘पोखराको मेयर, उपमेयर मात्र होइन, हाम्रो पार्टीको इकाइ समितिहरुले समाजवादीलाई वडा सदस्य पनि दिन नसक्ने निर्णय पठाएका छन् । गठबन्धनको आजको बैठकमा यसबारे प्रष्ट जानकारी गराएका छौं।’

कास्कीमा पोखरा महानगर र चारवटा गाउँपालिका छन्। जिल्लाभर ७२ वटा वडा छन्। एक जना वडा सदस्य पनि दिन नसक्ने भन्दै कांग्रेसले मित्रवत प्रतिश्पर्धा गर्न आग्रह गरेको सचिव ढकालले बताए।

समाजवादीले पोखरा महानगरको मेयर आफूले पाउनुपर्ने भन्दै केन्द्रमा दवाब बढाइरहेको छ। समाजवादीका अध्यक्ष माधव नेपालले केही दिन अघि पोखरामा ८ हजार पार्टी सदस्य रहेको र जनवर्गीय संगठनमा आवद्धसमेत जोड्दा १२ हजार पुग्ने भन्दै आफुहरुलाई कमजोर नआँक्न चेतावनी दिएका थिए।

एकीकृत समाजवादी गठबन्धनमा नरहने भएकाले अब मेयरसहित पालिका प्रमुखहरुमा कांग्रेसकै उम्मेदवार उठ्ने सचिव ढकालले बताए।

पोखरा समाजवादीलाई दिने छलफल चलिरहेका बेला कांग्रेस कास्कीका नेताहरु पनि काठमाडौं डेलिगेसन गएर सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई पोखराको मेयर अन्य दललाई दिन नसक्ने बताएको थियो।

प्रधानमन्त्री एवं सभापति देउवालाई पार्टीको वडा कार्यसमितिदेखि नै वडा सदस्य समेत समाजवादीलाई दिन नसक्ने निर्णय आएकाले पोखरा नदिन उनले आग्रह गरे। तर एकीकृत समाजवादी कास्कीका अध्यक्ष धनराज आचार्यले बिहान गठबन्धन बैठक नै नबसेको बताए।

कांग्रेसले पोखरा र चारवटै गाउँपालिका प्रमुख र वडा अध्यक्षसहित सदस्यको उम्मेदवार छनौट प्रक्रिया अघि बढाएको छ। पोखरा महानगरको मेयरमा मात्र कांग्रेसका १८ जना र उपमेयरमा १० जना आकांक्षीले आन्तरिक उम्मेदवारी दिएका छन्।

 

प्रतिक्रिया दिनुहोस