Latest News

बालुवाटारमा सत्ता गठबन्धन बैठकः कुन महानगरपालिकामा कसलाई मेयर, कसलाई उपमेयर ? (सूचीसहित)

Nepalese Times April 18, 2022 (1 Year ago)    1082 Views

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरु कुन महानगरपालिकामा कसको उम्मेदवारी हुने भन्नेबारे छलफल गरिरहेका छन् ।

सत्ता गठबन्धन दलका शीर्ष नेतासहित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक अहिले बसिरहेको हो । नौ बजे बस्ने भनिएको शीर्ष नेताहरूसहितको संयन्त्रको बैठक सवा दश बजे मात्रै सुरु भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस संयोजक सूर्यकिरणले बताए ।

बैठकमा विशेष गरी ६ महानगर र ११ उपमहानगरपालिकाको भागबण्डाका बारेमा छलफल भईरहेको नेताहरुले बताएका छन् । सत्ता गठबन्धनमा महानगर र उपमहानगरबारे आ–आफ्नै दाबी छन् ।

यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनका पाँच दलबीच तालमेल गर्ने सहमति भइसकेको भए पनि सिट भागबन्डामा अझै कुरा मिल्न सकेको छैन।

सोही विषयमा छलफल गर्न अहिले प्रधानमन्त्रीको सरकारी निवासमा गठबन्धनका शीर्ष नेतासहितको बैठक बसिरहेको हो । जारी बैठकले महानगर र उपमहानगरका प्रमुख र उपप्रमुख पदमा ककसले उम्मेदवारी दिने भन्ने विषयमा निर्णय गर्ने भनेर यसअघि नै नेताहरुले बताएका छन्।

बैठकमा समितिका १० सदस्यसहित गठबन्धनका शीर्ष नेताहरू नेपाली कांग्रेका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालगायत, माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधवुकमार नेपाल र महासचिव वेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट उपेन्द्र यादवलगायत सहभागी छन्।

पटकपटक बैठक बसे पनि उनीहरूले आपसमा स्थानीय तहको सिट बाँडफाँडको टुंगो लगाउन सकेका छैनन्। आइतबार बसेको बैठक पनि बिनानिष्कर्ष सकिएको थियो।

स्थानीय तहको निर्वाचनको लागि वैशाख ११ र १२ गते मनोनयन दर्ता हुँदै छ। मनोनयन दर्ता गर्न ६ दिन मात्र बाँकी हुँदा पनि सत्ता गठबन्धनका दलले महानगरपालिका र उपमहानगरपालिकासहितका स्थानीय तहमा उठ्ने उम्मेदवारका विषयमा सहमति गर्न सकेका छैनन्। महानगर, उपमहानगरसहित महत्वपूर्ण स्थानीय तहमा गठबन्धनका सबै दलले दाबी गर्दा सहमति हुन नसकेको हो।

यस्तो छ प्रस्तावित भागबण्डा

सत्तारुढ गठबन्धन महानगर र उपमहानगरको भागबण्डा सहमतिनजिक पुगेको भनिएको छ । बैठकमा तालमेलका लागि तयार पारिएको सहमतिको ड्राफ्टमाथि छलफल भइरहेको एक नेताले जानकारी दिए ।

आईतबार राति कार्यदलले तयार पारेको ड्राफ्ट अहिले बिहान बालुवाटारको शीर्ष नेताको बैठकमा पेस गरिएको थियो । जसअनुसार घोराहीका लागि माओवादीको दाबी भने जारी छ ।

इटहरीमा कांग्रेसले समाजवादीलाई छोड्न लचिलो भएको एक नेताले बताए । राप्रपासँग तालमेल भयो भने उसलाई नेपालगञ्ज दिने कुरा पनि गठबन्धनबीचमा चलेको छ ।

गठबन्धनमा साझा चुनाव चिन्ह लिएर लड्ने सहमति पनि जुटेको छ । जुन पालिकामा जसको प्रमुखमा उम्मेदवारी हुने हो, त्यही दलको चुनाव चिह्नमा पाँचै दल सहभागी हुने निर्णय भएको एक नेताले बताए ।

प्रस्तावित भागबण्डा अनुसार नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगरको मेयर पद पाउने भएको छ । यस्तै माओवादी केन्द्रलाई भरतपुर महानगरपालिका, एकीकृत समाजवादीलाई पोखरा महानगरपालिका, र जनता समाजवादी पार्टी (जसपा) लाई विरगन्ज महाननगरपालिकाको मेयर दिने मोटामोटी सहमति जुटेको छ ।

यस्तै धरान उपमहानगरपालिकामा कांग्रेस, ईटहरी उपमहानगरपालिकामा समाजवादी, जनकपुरमा कांग्रेस, जितपुर सिमरामा माओवादी, कलैयामा जसपा, हेटौंडामा समाजवादी, बसटवलमा कांग्रेस, घोराहीमा कांग्रेस, तुलसीपुरमा कांग्रेस, नेपालगन्जमा कांग्रेस र धनगढीमा कांग्रेसलाई मेयरको उम्मेदवार बनाउने मोटामोटी सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस