Latest News

भत्किने भयो सत्ता गठबन्धन, देशभर कांग्रेसबाहेकको गठबन्धन गर्ने प्रचण्ड र माधव नेपालको तयारी

Nepalese Times April 18, 2022 (2 Year ago)    1141 Views

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनबीच चुनावी तालमेललाई लिएर खटपट सुरु भएको छ । नेपाली कांग्रेसले ६ वटै महानगरपालिकामा दाबी प्रस्तुत गरेपछि बिच्किएका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले छुट्टै गठबन्धन बनाउने तयारीमा जुटेका छन् ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन गरेर अघि बढ्नुपर्ने पक्षमा रहेको भए पनि अरु नेताहरु त्यसलाई मान्न तयार छैनन् ।

सत्ता गठबन्धनको निर्णय भए पनि कांग्रेसले अन्तिम अवस्थामा आएर धोका दिने निष्कर्षसहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले छुट्टै गठबन्धन बनाउने कसरत अघि बढाएका हुन् ।

यस्तै सत्ता गठबन्धनप्रति नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले असन्तुष्टि व्यक्त गर्दै गठबन्धन छाड्ने चेतावनी दिएका छन् ।

स्थानीय तह निर्वाचनका लागि गठन भएको सत्तारूढ गठबन्धनको तयारी र अनुगमन संयन्त्रको बैठकमा सहभागी एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसाल र उपमहासचिव डा. विजय पौडेलले एक महानगरपालिकाको नेतृत्व आफ्नो पार्टीले नपाए चुनावी तालमेलबारे छलफल गर्न नसकिने भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

गठबन्धनको बैठक सकेर महासचिव भुसाल र उपमहासचिव पौडेल पार्टी सचिवालय बैठकमा आइतबार सहभागी भएका थिए । सचिवालय बैठकमा संयन्त्रको बैठकमा भएको छलफल’दयगतमा जानकारी गराउँदै महानगरपालिकाको नेतृत्व नदिने गरी गठबन्धनका नेताले षड्यन्त्र गरिरहेको नेपाललाई बताएका थिए ।

‘एक महानगरपालिकामा एकीकृत समाजवादीले मेयर नपाए चुनावी तालमेलको छलफलमा सहभागी नहुने जानकारी अध्यक्ष कमरेड (माधव नेपाल) लाई उहाँ .भुसाल र पौडेल)ले गराउनुभयो,’ सचिवालय बैठकमा सहभागी एक सदस्यले भने, ‘त्यसपछि अध्यक्ष कमरेडले पनि एक महानगरमा नेतृत्व नपाए अब छलफलको कुनै आवश्यकता नभएको बताउनुभयो ।’

एकीकृत समाजवादीलाई सम्मानजनक सिट नदिने संकेत पाएका अध्यक्ष नेपालले सार्वजनिक रूपमै असन्तुष्टि व्यक्त गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टीको शक्तिको अवमूल्यन नगर्न गठबन्धनकै अन्य दललाई चेतावनी दिएका थिए ।

अध्यक्ष नेपालले केही दलले आफ्नो पार्टीलाई अपमानपूर्ण व्यहार गर्ने गरेको समेत गुनासो गर्दै आएका छन् । यसैबीच, सत्ता गठबन्धन दलका नेता सम्मिलित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक सोमबार पनि बस्दै छ ।

स्थानीय तह निर्वाचनमा पालिकाहरुको भागबण्डा लगायतका विषयमा छलफल गर्न शीर्ष नेताहरुसहित संयन्त्रको बैठक बस्न लागेको हो । बैठक सोमबार बिहान नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आइतबार बसेको बैठकमा दलका नेताहरुले आ–आफ्नो दाबी प्रस्तुत गरेका थिए । आइतबारको बैठकमा नेकपा माओवादी केन्द्रले चितवनको भरतपुर, एकीकृत समाजवादीले पोखरा र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिका लिने प्रस्ताव प्रस्तुत भएको थियो ।

कांग्रेसले भने दाबी गरेको थिएन । आज महानगर र उपमहानगरपालिकाहरु भागबण्डामा छलफल गरी निष्कर्षमा पुग्ने प्रयास हुने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस