Latest News

अन्ततः चुनावको मुखमै एमाले फर्कने मन्त्री प्रेम आलेको तयारी, माधव नेपाल तनावमा

Nepalese Times April 17, 2022 (2 Year ago)    1902 Views

काठमाडौं । नेकपा एमाले विभाजित भएपछि नेकपा एकीकृत समाजवादीतिर लागेका प्रेमबहादुर आलेले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हालिरहेका छन् ।

पार्टी विभाजन हुनुभन्दा पहिले खुलेरै एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्षमा उभिएका उनी एकाएक नेकपा एकीकृत समाजवादीमा लाग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको थियो ।

ओली नेतृत्वको सरकारमा वन तथा वातावरण मन्त्री बनेका बेलामा उनी निक्कै आलोचित बनेका थिए । तर, नेकपा एकीकृत समाजवादीतिर लागेका आलेले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हालेपछि भने सबैको वाहवाही पाए ।

उनै पर्यटनमन्त्री फेरि नेकपा एमालेमा नै फर्कने तयारीमा रहेका विश्वस्त स्रोतले जनाएको छ । उनी निकट एक नेताका अनुसार मन्त्री आलेको मन्त्री पद जाने भएसँगै उनी फेरि नेकपा एमालेमै फर्कने तयारीमा रहेका हुन् ।

यस्तै सत्ता गठबन्धनबीच चुनावी तालमेल हुँदा आफ्नो निर्वाचन क्षेत्रबाट टिकट नपाईने र आफ्नो निर्वाचन क्षेत्रको टिकट अरु पार्टीलाई दिएर उनीहरुलाई जिताएर पठाउनुपर्ने बाध्यतालाई पनि उनले एमाले फर्कनुपर्ने कारणको रुपमा राखेका ती नेताले बताए ।

२०७४ को आम निर्वाचनमा डोटी १ बाट निर्वाचित भएका आलेलाई ओलीले पहिलो पटक प्रतिनिधि सभा विघटन गरेपछि गत पुसमा वन तथा वातावरण मन्त्री बनाएका थिए। चर्चित मन्त्री आलेलाई ओलीले दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेपछि हटाइदिए।

त्यसपछि उनी ओलीसँग टाढा हुँदै गएका थिए । आफ्नो निर्वाचन क्षेत्रबाट आफूले टिकट नपाईने र स्थानीय तह र संसदीय चुनाव दुबैमा अरु पार्टीको उम्मेदवारलाई भोट हाल्नुपर्ने अवस्था बुरेर आफूले एमालेमै फर्कने निर्णयमा पुगेको उनले बताउन थालेका छन् ।

आलेले एमाले फर्किने तयारीका लागि अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ता वाक्लो बनाएपछि आले निकट एकीकृत समाजवादीका अरु नेता तथा कार्यकर्ताहरु पनि एमाले फर्कन थालेका छन् ।

अबको चुनावमा टिकट नपाउने देखेका आलेले नेकपा एमाले प्रवेश गरेर भए पनि आफ्नो टिकट सुरक्षित गर्ने रणनीति बनाएका र त्यसैअनुसारको गतिविधि अगाडि बढाएका उनी निकट नेताहरुको भनाइ छ ।

यसअघि पर्यटनमन्त्री आले र श्रममन्त्री किसान श्रेष्ठको भूमिका विवादित भएको र पार्टीका लागि काम नगरेको भनेर माधवकुमार नेपालले हटाउने चर्चा पनि चलेको थियो । यस्तै चर्चाको बीचमा तनहुँबाट निर्वाचित किसान बालकोट पुगेको खबर समाजवादीका नेताहरूसम्म पुगेको थियो ।

एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेराश्ववियूका अध्यक्ष सुदेश पराजुलीले नै समाजवादी पार्टीबाट मन्त्री बनेको नेता राति राति अर्को पार्टीको अध्यक्षको घरमा गेट पाले बस्न जानु झन गम्भीर रहेको भनेर सामाजिक संजालमै भनेका थिए ।

चुनावको मुखमा मन्त्री आले एमाले प्रवेश गर्ने चर्चाले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल फेरि तनावमा परेका छन् । आलेले राम्रो काम गरेर एकीकृत समाजवादीकै इज्जत राखिदिएको भनेर यसअघि नै सार्वजनिक अभिव्यक्ति दिएका समाजवादीका अध्यक्ष नेपाललाई मन्त्री आलेलाई एमाले प्रवेश गर्न नदिन दौडधुपमा लागेका स्रोतको दाबी रहेको छ ।

प्रतिक्रिया दिनुहोस