Latest News

राप्रपाले पनि सत्तारुढ गठबन्धनसंग तालमेल गर्ने, ओली झन् तनावमा

Nepalese Times April 17, 2022 (2 Year ago)    863 Views

झापा – प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमकमा सत्तारुढ गठबन्धन भित्रको दल नेकपा माओबादी केन्द्रले मेयरको दाबी गरेपछि नेपाली कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग तालमेल गर्ने भएको छ ।

१० वटा वडा रहेको दमक नगरको मेयर र उपमेयरसहित बहुमत वडामा नेकपा एमालेको बहुमत रहेको छ । मेयर निर्वाचित भएका एमालेका रोम ओलीले करिव १० हजार ५ सय मत ल्याउँदा राप्रपाका राम थापाले आठ हजार ६ सय, माओबादी केन्द्रका गगन पुरीले ६ हजार ६ सय र कांग्रेसका ढुण्डी भण्डारीले करिव ५ हजार ५ सय मत ल्याएका थिए ।

दमकमा सत्तारुढ गठबन्धन भित्रका दलबीच एकता भए पनि माओबादीको तर्फबाट मेयर दाबी गरिरहेका गगन पुरी विवादस्पद व्यक्ति भएको भन्दै कांग्रेसले माओबादीको नेतृत्व अश्वीकार गरेको हो । कांग्रेसले दमकमा आफूलाई उपमेयरसहित ४ वटा वडा दिनु पर्ने प्रस्ताव गरेको छ । तर राप्रपाले भने मेयरसहित आफूलाई ४ वटा वडाध्यक्ष दाबी गरिरहेको छ ।

कांग्रेस र राप्रपाबीचको तालमेलमा माओबादीले साथ दिए तीन वटै दलले ३–३ वटा वडाध्यक्ष र वाँकी एउटा वडामा नेकपा एस र संघीय समाजबादीमध्ये एक जनालाई दिने करिव करिव सहमति भएको नेविसंघ पूर्वउपाध्यक्ष तथा महाधिवेशन प्रतिनिधि मेदनी प्रसाद सिटौलाले बताए ।

राप्रपाबाट दमक नगरमा पार्टीका १ नम्वर प्रदेश समिति प्रमुख रहेका पार्टीका पूर्वसहमहामन्त्री राम थापाले दाबी गरेका छन् भने उपमेयरमा कांग्रेसकी रेजिना भट्टराई र चन्द्रा खड्काले दाबी गरेका छन् ।

दमक नगरमा एमालेले भने यसपटक मेयरमा हालकी उपमेयर गीता अधिकारी र होम थापामध्ये एकलाई उठाउने भएको छ । हालका मेयर रोम ओलीले दाबी छाडेका छन् । अधिकारी चर्चित एवम् विवादस्पद ठेकेदार मदन अधिकारीकी श्रीमती हुन भने थापा ओली प्रधानमन्त्री हुँदा सहायक स्वकिय सचिव थिए ।

ओलीकै निर्वाचन क्षेत्रमा पर्ने गौरादह नगरपालिकामा भने राप्रपाको संगठन कमजोर भए पछि कांग्रेस र माओबादी केन्द्रबीच सहमति हुने सम्भावना छ । ९ वटा वडा रहेको गौरादहको मेयरमा कांग्रेस र उपमेयरमा माओबादीलाई उम्मेदवार बनाउने सत्तारुढ गठबन्धनबीच सहमति भएको छ ।

माओबादीले गौरादहका ९ वटा वडामध्ये ४ वटा वडा मागेर ३ वटा वडा चाहिने अडान राख्दा सहमति नटुंगिएको कांग्रेस नेता अनिलकृष्ण प्रसाईंले बताए । गौरादहमा मेयरसहित ३ वटा वडामा कांग्रेस विजयी भएको थियो । एउटा पनि जनप्रतिनिधि नजितेको माओबादीले २ वटा वडामा चित्त बु्झाएन भने सत्तारुढ गठबन्धनबीच तालमेल नहुने एक नेताले बताए ।

गौरादहमा कांग्रेसको तर्फबाट हालका मेयर रोहित साह, क्षेत्र नं ५ क का क्षेत्रिय सभापति जीवन राई, गौरादह नगर सभापति यादव सेढाईं र ९ नम्वर वडाध्यक्ष सिताराम भट्टराईले दाबी गरेका छन् । उपमेयरमा भने माओबादी केन्द्रबाट एक जना पुष्प ढकालको मात्र दाबी छ ।

गौरादहमा २०७४ को स्थानीय निर्वाचनमा मेयर साहसँग पराजित मदन अधिकारीले दाबी गरेका छन् । पूर्वसांसद तथा एमाले झापा जिल्ला कमिटी अध्यक्ष दीपक कार्कीको चर्चा चले पनि उनले पछिल्लो चरणमा प्रतिष्पर्धाबाट पछि हटेका छन् ।

ओलीकै निर्वाचन क्षेत्रमा पर्ने कमल गाउँपालिकामा भने कांग्रेसका उम्मेदवार हुकुमसिंह राई पुन प्रतिष्पर्धामा उत्रने भएका छन् । उनी एमालेकी गाउँपालिका अध्यक्ष मेनुका काफ्लेसँग बराबर मत ल्याए पनि गोला तान्दा पराजित भएका थिए ।

कांग्रेसले कमल गाउँपालिकामा राईलाई पुन उम्मेदवार बनाउने पक्का पक्की भएको गाउँ कार्यसमितिका सभापति बुद्धी न्यौपानेले बताए । कमल गाउँपालिकाका ७ वटा वडामध्ये कांग्रेसले अध्यक्ष र तीन वटा वडा दाबी गरेको छ ।

यहाँ माओबादीलाई २, नेकपा एस, जनता समाजबादी र राप्रपामध्ये २ पर्टीलाई १–१ वटा वडाध्यक्ष दिने विषय सहमति नजिक पुगेको छ । कमल गाउँपालिकामा एमालेले गाउँपालिका उपाध्यक्ष बेनु शिवाकोटीलाई अध्यक्षमा उठाउने भएको छ ।

पूर्वप्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रमा पर्ने गौरिगंज गाउँपालिकामा भने कांग्रेसले ५ वटा वडामध्ये माओबादीलाई एउटा वडाध्यक्ष र एउटा उपमेयरसहित वडासदस्य लिन प्रस्ताव गरेको छ । माओबादीले एक उपमेयरसहित १ वडाध्यक्ष र ५ वटा वडासदस्यमा चित्त नबुझाए यो गाउँपालिकामा कांग्रेस एक्लै चुनावी मैदानमा उत्रने भएको छ ।

गौरिगंज गाउँपालिकाको उपाध्यक्षसहित तीन वटा वडा कांग्रेसले जितेको छ भने अध्यक्षमा राप्रपाका राजुबाबु श्रेष्ठ र २ वटा वडामा एमालेका उम्मेदवारले वडाध्यक्ष जितेका थिए । यो गाउँपालिकाबाट कांग्रेसले अध्यक्षमा घनश्याम रिजाल, दिपेन्द्र थापा र फुलमति राजबंसीमध्ये कुनै एक जनालाई उम्मेदवार बनाउने भएको छ ।

गौरिगंज गाउँपालिकाको अध्यक्षमा एमालेले भने महाभारा गाउँपालिकाका अध्यक्ष तथा कांग्रेसका पूर्व जिल्ला सदस्य बिजय अग्रवालको नाम प्रस्तावित गरिएको छ । उनी कांग्रेस छाडेर तराई मधेश लोकतान्त्रिक पार्टी हुँदै ४ वर्षअघि एमाले प्रवेश गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस