Latest News

काँग्रेस र जसपाले जारी गरेको यस्तो विज्ञप्तिले गठबन्धनमा हलचल

Nepalese Times April 17, 2022 (2 Year ago)    622 Views

काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिकामा काँग्रेस र जनता समाजवादी पार्टी नेपालका नेताले विज्ञप्ति जारी गरेपछि गठबन्धनमा हलचल पैदा भएको छ ।

गठबन्धन भत्काउने गरी नेपाली कांग्रेस र जनता समाजवादी पार्टी जसपाका नेताहरुले विज्ञप्ति निकालेपछि गठबन्धनमा हलचल मचिचएको हो । काँग्रेसका पर्सा जिल्ला अध्यक्ष जनार्दन सिंह क्षेत्री र जसपा नेपालका पर्सा अध्यक्ष रामनारायण प्रसाद सिंहले शनिबार प्रेस विज्ञप्ति जारी गरेका थिए ।

उनीहरुले पर्साको वीरगञ्ज महानगरपालिकासहित १४ वटै पालिकामा छुट्टाछुट्टै चुनाव लड्ने सहमति गरेका थिए । तर त्यो विज्ञप्ति उनीहरुको व्यक्तिगत रहेको गठबन्धनमा आवद्ध दल जसपा, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका नेताहरु बताउँछन् । ती दलका नेताहरुले आफू गठबन्धनकै पक्षमा रहेको र यो गठबन्धन कुनै पनि हालतमा भत्किन नहुने बताए ।

तर काँग्रेसका नेता अजय द्विवेदी भने काँग्रेसले जारी गरेको विज्ञप्ति आधिकारिक रहेको बताएका छन् । पर्सामा गठबन्धन नगर्ने कुराको जानकारी आफूहरुले केन्द्रलाई समेत गराइसकेको भन्दै उनले त्यसलाई प्रष्ट पार्न जिल्ला तहबाट त्यस्तो निर्णय सार्वजनिक गरेको बताए ।

जसपा केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप यादवले जसपा र काँग्रेसका जिल्ला अध्यक्षले जारी गरेको विज्ञप्ति गठबन्धनको नीति विपरीत रहेको बताएका छन् ।

वीरगञ्ज महनगरपालिकालगायत अन्य पालिकामा के गर्ने, नगर्ने विषयमा अहिले केन्द्रले कुनै कुनै निर्देशन नदिएको भन्दै उनले उनीहरुले आफ्नै तरिकाले विज्ञप्ति जारी गरी जनतालाई भ्रममा पारेका बताए । हालसम्म गठबन्धन बनाएरै चुनाव जाने तयारी रहेको भन्दै उनले त्यसका लागि केन्द्रले के निर्णय गर्छ, त्यसमा भर पर्ने बताए ।

त्यस्तै, माओवादी केन्द्रका नेता रोहवर अन्सारीले काँग्रेस र जसपाबाट आएको विज्ञप्ति नेताहरुको व्यक्तिगत रहेको बताए । जसपा र काँग्रेसले जिल्ला नेतृत्व तहबाट विज्ञप्ति जारी गरे पनि केन्द्रको निर्णय नआएका कारण पर्सामा पाँच दलीय गठबन्धन कायम रहेको उनको भनाइ छ ।

यस्तै नेकपा एकीकृत समाजवादी पार्टीका नेता नागेन्द्र चौधरीले पनि काँग्रेस र जसपाका जिल्ला अध्यक्ष दुई जनामात्र बसेर गरेको निर्णयमा गठबन्धन दलको सहमति नरहेको बताए ।

मधेस प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्ज अहिले चर्चामा छ । सो महानगरपालिकामा मेयर हात पार्न काँग्रेस र जसपाबीच प्रतिस्पर्धा चलिरहेको छ । जसपाले यसअघि आफूले महानगरपालिका जितेको कारण अब पनि आफूले नेतृत्व पाउनुपर्ने भन्दै आएको छ । काँग्रेसले पनि यस पटक वीरगञ्ज महानगरपालिका नछाड्ने अडान राखेको छ ।

प्रतिक्रिया दिनुहोस