Latest News

मेयर बन्नका लागि यी बहालवाला मन्त्रीसहित कांग्रेसमा १८ जनाको आवेदन, कसले मार्ला बाजी ?

Nepalese Times April 17, 2022 (1 Year ago)    729 Views

काठमाडौं । नेपाली कांग्रेसबाट पोखरा महानगरपालिकाको मेयर पदको उम्मेदवार बन्न बहालवाला मन्त्रीसहित १८ जनाले आवेदन दिएका छन् ।

नेपाली कांग्रेसको पोखरा महानगर समितिमा गण्डकी प्रदेशका बहालवाला कानुनमन्त्री विन्दुकुमार थापासहित १८ जनाले आवेदन दिएका नेपाली कांग्रेसका एक नेताले बताए ।

महानगर प्रमुखको उम्मेदवारका लागि आवेदन दिनेमा सुदीपमोहन भट्टराई, परमेश्वर पोखरेल, निर्मलप्रसाद कर्मचार्य, कृष्णबहादुर केसी, बाबुराम आचार्य, सरस्वती गुरुङ, नन्दप्रसाद तिवारी, गंगाधर पराजुली, वीरेन्द्र नारायण बिजुक्छे, विश्वशंकर पालिखे, किशोरदत्त बराल, बाबुराम गिरी, गणेश बहादुर भट्टराई, कोपिला रानाभाट, किरण केसी, विश्व घिमिरे र ऋषि सापकोटा छन् ।

मेयर पदको उम्मेदवारका आकांक्षीलाई आइतबार ४ बजेसम्म आवेदन दिन भनिएको थियो । महानगर कमिटी सचिव गणेशबहादुर थापाका अनुसार निर्धारित समयभित्र १८ जनाले आवेदन दिएका हुन् । यस्तै महानगर उपप्रमुखको उम्मेदवारका लागि १० जनाले आवेदन दिएका छन् ।

आवेदन दिनेमा माया बराल कार्की क्षेत्री, लक्ष्मी पाण्डे क्षेत्री, रंगिला आचार्य, आनन्दी राणा कार्की, टीकाकुमारी गुरुङ, दीपक महत, मिलन थापा, चिनु गुरुङ, शिव केसी र गोविन्द नेपाली छन् । कांग्रेसबाट महानगर प्रमुख बन्न आकांक्षीले २५ हजार उपप्रमुख आकांक्षीले २० हजार रुपैयाँ तिरेर नाम दर्ता गरेका हुन् ।

यस्तै नेपाली काँग्रेसले काठमाडौँ महानगरमा पनि गठबन्धन नगर्ने निर्णयमा पुगेको छ। कांग्रेस काठमाडौं महानगर समितिले गठबन्धन नगर्ने निष्कर्ष निकालेको हो।

आइतबार भएको नगर समितिको बैठकले ३२ वटा वडाका साथै मेयर र उपमेयरमा कांग्रेस एक्लैले चुनाव जित्ने निष्कर्ष निकालेको हो। यो निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर जित्ने योजना बनाइरहेको कांग्रेसले माओवादी र एकीकृत समाजवादीसहितका गठबन्धन दलसँग तालमेल गर्न नहुने निर्णय गरेको हो।

रुखबाहेक अन्त भोट हाल्न कांग्रेस कार्यकर्ताले अस्वीकार गरेकाले गठबन्धन नगर्ने आफ्नो निष्कर्ष माथिल्लो समितिमा पठाउने तयारी गरिएको महानगर समिति सचिव सुशन वैद्यले बताए।

‘हाम्रो समितिमा ३२ वडाकै साथीहरु हुनुहुन्छ। उहाँहरुको सवै साझा धारणा गठबन्धन नगरी चुनाज जित्न सकिन्छ भन्ने रह्यो। रुख बाहेक अन्य चिह्नमा भोट हाल्न बाध्य नपारियोस् भन्नुभएको छ,’ वैद्यले भने।

आइतवारको बैठकमा १६० सदस्यीय कार्यसमिति सदस्यमध्ये ३६ जनाले आफ्ना धारणा राखेका थिए। सवैले गठबन्धनको विपक्षमा आफ्नो मत प्रकट गरेका छन्। बैठकले आकांक्षीहरुको नाम सिफारिस गर्ने जिम्मेवारी भने पदाधिकारीलाई दिएको छ।

वैशाख ३० मा हुने स्थानीय चुनावका लागि वैशाख ११ मै उम्मेदवारी दर्ता गर्नुपर्ने निर्वाचन आयोगको तालिका छ। मेयरका लागि शाक्यसहित महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, प्रगतिमान रञ्जित, सचिव सुशन वैद्य, सिर्जना सिंह, नरोत्तम वैद्य र तीर्थराम डंगोल आकांक्षी छन्।

प्रतिक्रिया दिनुहोस