Latest News

देउवा र प्रचण्डबीचको भेटवार्ता सकियो, के–के भयो कुराकानी ?

Nepalese Times April 17, 2022 (2 Year ago)    795 Views

काठमाडौं । स्थानीय तहको निर्वाचनबाट प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ ।

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा केही पालिकाहरुमा उम्मेदवारीको विषयमा समस्या देखिनथालेपछि प्रचण्ड र देउवाबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच छलफल भएको हो। उक्त छलफलमा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ पनि रहेका छन्। केही नगर र गाउँपालिकामा देखिएको उम्मेदवारीबारेको समस्या समाधानका लागि गम्भीर छलफल भइरहेको प्रचण्डको सचिवालयका एक सदस्यले बताएका छन् ।

पछिल्ला दिन चितवनको भरतपुर महानगरपालिका, कञ्चनपुर जिल्लामा कांग्रेसका नेताहरुले नै गठबन्धन स्वीकार्न नसकिने भन्दै विज्ञप्ति जारी गरिसकेका छन्।

कांग्रेससहितको सत्ता गठबन्धन र राष्ट्रिय जनमोर्चाबीच आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाएर जाने सहमति कार्यान्वयनमा जटिलता देखिएपछि त्यसको समाधानको लागि प्रचण्डले देउवासँग छलफल गरेका हुन्।

बालुवाटार स्रोतका अनुसार आजै बिहान नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि प्रधानमन्त्री देउवासँग छलफल गरेका थिए।

यस्तै  प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनलाई मिलाएर लैजाने सबै जिम्मेवार हुनुपर्ने बताएका छन् । शनिबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा कांग्रेस सभापतिसमेत रहेका देउवाले यस्तो बताएका हुन् ।

काँग्रेसको नेतृत्वमा गठबन्धनको सरकार रहेको भन्दै उनले चुनावी तालमेलका लागि काँग्रेसकै नेतृत्व संयन्त्र बनेकोले आफूहरु अलि धेरै जिम्मेवार हुनुपर्ने बताए । गठबन्धनबीच चुनावी तालमेल हुने निर्णय भइसकेको भन्दै उनले कार्यान्वयन गरेर जाने कुरामा सबैले सहजीकरण गर्नुपर्ने बताए ।

बैठकमा कार्यसम्पादन समितिका सदस्यले गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिलाई महानगर र उपमहानगरको प्रमुख र उपप्रमुखमा पार्टीको स्ट्रेन्थ अनुसार दाबी राख्न सुझाएका थिए ।

सहमहामन्त्री महालक्ष्मी उपाध्यक्षका अनुसार यस विषयमा थप छलफल गर्न पार्टी उपसभापति पूर्णबहादुर खड्काले भोलि पनि बैठक बोलाइएको छ ।यस्तै केन्द्रीय कार्यसम्पादन समितिका सदस्य एनपी साउदले जिल्ला–जिल्लामा तालमेल र उम्मेदवारीमा के कसरी अगाडि बढने बारे छलफल भएको बताए ।

प्रतिक्रिया दिनुहोस