Latest News

भरतपुरको मेयर प्रचण्ड पुत्री रेनुलाई दिने हो, कांग्रेसले उपमेयर लिने हो : देउवा

Nepalese Times April 17, 2022 (2 Year ago)    1927 Views

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुरले चितवनस्थित भरतपुर महानगरपालिकाको मेयरको टिकट नेकपा माओवादी केन्द्रलाई दिनुपर्ने बताएका छन्।

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा उनले यस्तो बताएका हुन् । नेताहरुले भरतपुरको मेयर अरुलाई दिन नहुने मत राखेपछि त्यसको जवाफमा देउवाले भरतपुरको मेयर माओवादीलाई दिएर कांग्रेसले उपमेयर लिनुपर्ने बताएका हुन् ।

कांग्रेसले यसअघि स्थानीय कमिटीले त्यहाँको आवश्यकताका आधारमा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको थियो।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले भरतपुरको मेयर पद राख्ने या अरुलाई दिनेबारे निर्णय लिने जिम्मा त्यहीँको कमिटीलाई दिनुपर्ने बताएपछि देउवाले उक्त कुरा सुनाएका हुन्।

बैठकमा महामन्त्रीद्वयसहितका नेताहरुले सम्बन्धित तहले तालमेलको आवश्यकता छ वा छैन भन्ने कांग्रेसको निर्णय देउवालाई स्मरण गराएका थिए।

त्यही अनुसार कांग्रेसका केही नेताहरुले कार्य सम्पादन समितिको बैठकमा धारणा राखेका थिए। यस्तोमा देउवाले कांग्रेसको भरतपुर महानगर सभापति चित्रसेन अधिकारी उपमेयरमा लड्न तयार भइसकेको भन्दै मेयरको टिकट केन्द्रको सहमति अनुसार माओवादीलाई दिन लागिएको संकेत गरेका हुन्।

कांग्रेसको भरतपुर महानगर कार्यसमिति सभापति अधिकारी संस्थापन इतर समूहका हुन्। अधिकारी अहिले भरतपुर महानगर वडा नम्बर २१ को वडाध्यक्षको भूमिकामा पनि छन्।

बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले २०७४ सालमा कांग्रेसले माओवादीलाई सघाएर मेयर जिताएकाले यो पटक स्वभावतः कांग्रेसलाई माओवादीले सघाउनुपर्ने पनि बताए ।

अनेक विवादबीच कांग्रेस चितवनका सभापति राजेश्वर खनालले शनिबारै भरतपुरमा स्थानीय तह निर्वाचनको नतिजा प्रतिकुल आए जिम्मा नलिने बताएका छन्।

भरतपुर महानगरपालिका प्रमुखको उम्मेदवार नेकपा माओवादी केन्द्रलाई छाड्ने निर्णय केन्द्रबाट आएमा त्यस्तो निर्णय मान्ने तर नतिजामा आफू जिम्मेवार नहुने उनले बताए।

शुक्रबार चितवन आएका कांग्रेस नेता प्रकाशमान सिंहले गठबन्धन जोगाउन भरतपुर महानगर प्रमुख माओवादीलाई छाड्ने गरी तालमेल हुने बताएका थिए। त्यही भनाइलाई लिएर चितवन कांग्रेस तरंगित भएको छ।

प्रतिक्रिया दिनुहोस