Latest News

पर्सामा पनि भत्कियो गठबन्धन, केन्द्रको निर्णय अस्वीकार

Nepalese Times April 17, 2022 (2 Year ago)    533 Views

सत्ता गठबन्धनका पाँच दलबीच आसन्न स्थानीय तहको निर्वाचनमा आपसमा तालमेल गर्ने निर्णय भए पनि कतिपय जिल्ला तथा स्थानीय तहमा भने पालना भइरहेको छैन।

यसै क्रममा पर्सा जिल्लामा पनि सत्ता गठबन्धनका पाँच दलबीच चुनावमा सहकार्य नहुने भएको छ। त्यहाँ नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले आपसमा तालमेल होइन, मित्रवत् प्रतिस्पर्धाचाहिँ गर्ने सहमति गरेका हुन्।

कांग्रेसका पर्सा जिल्ला सभापति जनार्दन सिंह क्षेत्री र जसपाका जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवले जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा स्थानीय नेता कार्यकर्ताको मनोभावनाको कदर गर्दै जिल्लाका १४ वटै पालिकामा मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति गरिएको उल्लेख छ।

शनिवार दुवै दलका जिल्ला प्रमुखले अलगअलग चुनाव लड्ने सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।

यस्तै सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनमा तालमेलको सहमति गरेपनि नेपाली काँग्रेस अछामका तीन पालिकाकाले अस्वीकार गरेका छन् ।

साँफेबगर नगरपालिका तथा रामारोशन र चौरपाटी गाउँपालिकाले सत्ता गठबन्धनको निर्णय अस्वीकार गरेको हो । उनीहरुले चुनावमा तालमेल नगर्ने निर्णय गरेका छन् । नगर तथा गाउँकार्य समितिको बैठकले तालमेल नगर्ने निर्णय गरेका हुन् ।

काँग्रेस बलियो रहेको क्षेत्रमा तालमेल गरेर जान नसकिने काँग्रेस साफेबगर नगर सभापति लालबहादुर कुँवरले बताए । उनले काँग्रेसको जनाधारको कदर हुनेगरी निर्णय लिइएको भन्दै तीन पालिकामा काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले दाबी गरिरहे पनि सहमति जुट्न सकेको थिएन ।

यस्तै सिन्धुलीको सुनकोशी गाउँपालिकामा नेपाली काँग्रेस एकल रुपमा चुनावमा जाने भएको छ । शनिबार गाउँपालिकाका ७ वटै वडाका वडा सभापतिको बैठक बसी आगामी निर्वाचनमा कुनै पनि पार्टीसँग गठबन्धन नगरी एकल रुपमा चुनावमा जाने निर्णय गरेको हो ।

आगामी निर्वाचनमा केन्द्रिय तहदेखि प्रदेश, जिल्ला र स्थानीय तहमा सत्तारुढ गठबन्धन गर्ने निर्णय गरेको भए पनि सुनकोशी गाउँपालिकाका सबै वडाहरू त्यसको पक्षमा नरहेकाले एकल रुपमा जाने निर्णय गरिएको छ ।

सत्तारुढ गठबन्धनमा रहेका दलहरु दलीय भागबण्डाको मोडालिटी बनाउन सक्रिय रहेपनि यस गाउँपालिका प्रमुख/उपप्रमुखदेखि वडा तहसम्म एकल रुपमा उम्मेदवार उठाउने बैठकले निर्णय गरेको छ । बैठकले उक्त निर्णय माथिल्लो निकायमा पठाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस