Latest News

ललितपुरमा गठबन्धनभित्र बढ्यो लफडाः महानगर कांग्रेसले नछाड्ने, कुन पालिकामा कस्को दाबी ?

Nepalese Times April 16, 2022 (1 Year ago)    568 Views

काठमाडौं । देशभरका पालिकामा आवश्यकता अनुसार चुनावी तालमेल गर्ने निर्णय गरेको सत्तारुढ दलहरुबीच कुन पालिकामा कुन दलका उम्मेदवारलाई सहयोग गर्ने भन्ने विषय पेचिलो भन्दै गएको छ । सबै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाहरुमा सबै दलहरुले आ–आफ्नो दाबी प्रस्तुत गरेका छन् ।

ललितपुर जिल्लाको एक महानगरपालिकासहित ६ स्थानीय तहमा सत्ता गठबन्धनभित्र सर्वसम्मत हुन नसकेपछि लफडा भएको छ। सत्ता गठबन्धनमा सहभागी नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच चुनावी तालमेलका विषयमा सहमति हुन नसकेपछि बाग्मती प्रदेश कमिटी र केन्द्रमा सिफारिस गरिएको हो ।

गठबन्धनमा रहेका दलहरुमध्ये काँग्रेस, माओवादी र एकीकृत समाजवादीले आ–आफ्नै दाबी कायमै राखेपछि प्रदेश र केन्द्रमा सिफारिस गरिएको एकीकृत समाजवादीका जिल्ला अध्यक्ष हरिकृष्ण थापाले बताए। ललितपुरका ६ स्थानीय प्रमुख–उपप्रमुखको भागवण्डा मिलाएपछि टुङ्गो लगाएपछि वडाको भागवण्डा लगाउने माओवादी केन्द्रका जिल्ला अध्यक्ष शिव कट्टेलले बताए।

ललितपुरका ६ स्थानीय तहका प्रमुख उपप्रमुखको भागवण्डाका विषयमा छलफल गरिएको भन्दै उनले सर्वसम्मत हुन नसकेको र त्यसपछि केन्द्र र प्रदेशमा सिफारिस गरिएको बताए । ललितपुरमा गठबन्धनमा सहभागी सबै दलको तानातान भएपछि सर्वसम्मत हुन नसकेको कट्टेलले बताए। जिल्लाले मिलाउन नसकेपछि प्रदेश कमिटीले भागवण्डा गरेर मिलाउने भएको छ।

ललितपुर महानगरपालिकामा काँग्रेसले प्रमुख र उपप्रमुख दुवै दाबी गरेको छ। यसअघि निर्वाचनमा पनि काँग्रेसले दुवै पदमा जितेकाले यस पटक पनि गठबन्धनबाट दुवै पद दाबी गरेको हो। तर, एकीकृत समाजवादीले उपप्रमुख पाउनु पर्ने दाबी गरेको छ।

माओवादीले महानगरका प्रमुख उपप्रमुख दुवै पदमा दाबी नगरेको जिल्ला अध्यक्ष शिव कट्टेलले बताए। ललितपुरको पाँच दलीय गठबन्धनमा कुरा नमिलेपछि केन्द्रलाई मिलाउने गरी सिफारिस गरिएको छ। यस अघि निर्वाचनमा काँग्रेसबाट चिरिबाबु महर्जनले २४६४२ उपमेयरमा गीता सत्यालले १९८१९ ल्याएर विजयी भएका थिए।

यस्तै गोदावरी नगरपालिकामा मेयर र उपमेयरमा काँग्रेसले दाबी गरेको छ। यसअघि निर्वाचनमा मेयर उपमेयर काँग्रेसले नै जितेकाले दुवै पद आफूले पाउनु पर्ने दाबी छ। काँग्रेसले कुनै पनि हालतमा मेयर उपमेयर छोड्न नमिल्ने अडानमा छ। तर, एकीकृत समाजवादीले गोदावरी उपमेयर दाबी गरेको छ। माओवादीले भने मेयर रउपमेयर दुवै पद दाबी गरेको छैन। यसअघि निर्वाचनमा काँग्रेसबाट मेयरमा गजेन्द्र महर्जनले १३८२० मत र उपमेयरमा मुना अधिकारीले १२७७९ मत ल्याएर विजयी भएका थिए।

महालक्ष्मी नगरपालिकामा काँग्रेस, माओवादी र एकीकृत समाजवादी तीनै दलले दाबी गरेका छन्। काँग्रेस, माओवादी र एकीकृत समाजवादी तीनै दलले मेयर र उपमेयर दुवै दाबी गरेका छन्। तीनै दलले मेयर र उपमेयरमा दाबी गरेपछि सर्वसम्मत हुन नसेको काँग्रेसका जिल्ला अध्यक्ष जितेन्द्रकुमार श्रेष्ठले बताए। एकले अर्कालाई छोड्ने स्थिति नभएपछि तीनै दलको दाबी रहेको श्रेष्ठले बताए।

यसअघि निर्वाचनमा महालक्ष्मी नगरपालिका मेयर र उपमेयर एमालेले जितेको थियो। एमालेका मेयर रामेश्वर श्रेष्ठले ७ हजार ७६४ मत र उपमेयरमा निर्मला थापाले ८ हजार ६३६ मत ल्याएर विजयी भएका थिए।

यस्तै बागमती गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष काँग्रेसले दाबी गरेको छ। यसअघि निर्वाचनमा समेत दुवै पद काँग्रेसले जितेकाले गठबन्धनमा पनि पाउनुपर्ने दाबी छ। माओवादी र एकीकृत समाजवादी दुवै दलले दाबी नगर्ने भएका छन्। यसअघि निर्वाचनमा काँग्रेसबाट वीरबहादुर लोप्चनले ३३८८ मत र उपाध्यक्षमा रञ्जना घिमिरेले ३४२६ मत ल्याएर विजयी भएका थिए।

यस्तै कोन्ज्योसोम गाउँपालिकामा काँग्रेस, माओवादी र एकीकृत समाजवादी तीनै दलले दाबी गरेका छन्। काँग्रेस र माओवादीले अध्यक्ष र उपाध्यक्ष दुवै पद दाबी गरेको छ। एकीकृत समाजवादीले उपाध्यक्ष मात्रै दाबी छ।

यसअघि निर्वाचनमा माओवादी काठमाडौँ उपत्यकाबाट मात्रै जितेको पालिका एउटै भएकाले दुवै पद आफूले पाउनु पर्ने दाबी छ। उता काँग्रेसले आफू दोस्रो भएर हारेकाले दुवै पदमा दाबी गरेको छ।

उता एकीकृत समाजवादीले एमालेकै हिस्सालाई देखाएर उपाध्यक्ष पद दाबी गरेको छ। सत्ता गठबन्धनभित्र सर्वसम्मत नभएपछि आ–आफ्नो दाबी कायमै राखेर प्रदेशमा सिफारिस गरिएको छ।

यसअघि निर्वाचनमा नेकपा माओवादीबाट गोपीलाल सिन्तानले १ हजार ७९८ मत ल्याएर निर्वाचित भएका थिए। उपाध्यक्षमा माओवादीकै मिङमा लामाले १ हजार ९३३ मत ल्याएर विजयी भएकी थिइन।

यस्तै महांकाल गाउँपालिकामा काँग्रेसले अध्यक्ष दाबी गरेको छ। माओवादीले भने अध्यक्ष र उपाध्यक्ष दुवै दाबी गरेको छ। एकीकृत समाजवादीले भने उपाध्यक्ष मात्रै दाबी गरेको छ। एकले अर्कालाई छोड्ने स्थिति नभएपछि सबैको दाबी प्रदेश संयत्रमा पठाएको छ। यसअघि निर्वाचनमा एमालेबाट अध्यक्षमा रामचन्द्र दाहालले २०८० मत र उपाध्यक्षमा कमला लामा तामाङले २२९३ मत ल्याएर विजयी भएका थिए।

प्रतिक्रिया दिनुहोस