Latest News

भरतपुर महानगरको मेयरका लागि कांग्रेस महामन्त्री शर्माले राखे यस्तो प्रस्ताव, के गर्लान् प्रचण्ड ?

Nepalese Times April 16, 2022 (1 Year ago)    1038 Views

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भरतपुर महानगरपालिकाका कांग्रेस र माओवादी केन्द्रले तालमेल नगर्ने प्रस्ताव अघि सारेका छन् ।

केन्द्रीय कार्यलय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा महामन्त्री शर्माले २०७४ मा माओवादीलाई मेयर छाडेकाले यो पटक कांग्रेसलाई सघाउनुपर्ने बताए ।

यो पटक माओवादी केन्द्रले भरतपुर महानगरपालिका छाड्नुपर्ने भन्दै उनले त्यसो नभए कांग्रेस र माओवादी केन्द्रबीच तालमेल हुन नसक्ने र एक्लैएक्लै चुनाव लड्नुपर्ने बताए ।

माओवादी केन्द्रले कांग्रेसलाई मेयर नछाड्ने भए मित्रवत प्रतिस्पर्धा गर्नुपर्ने भन्दै उनले व्यक्तिगत रुपमा आफू देशभर एक्लै लड्नुपर्छ भन्ने पक्षमा रहेको बताए ।

निजात्मक बुझाइ, भावनात्मक आवेग र धरातलीय यथार्थबीच जो फरक हुन्छ, त्यही गाम्भीर्यताले तालमेल गर्न सहमत भएको भन्दै उनले यस्तो बताएका हुन् । आफूहरुको निर्णय गठबन्धन नभई तालमेल मात्रै रहेको भन्दै उनले त्यो पनि स्थानीय स्थिति र आवश्यकता अनुरुप हुनुपर्ने बताए ।

उनले भने, ‘त्यही स्थानीय स्थिति, स्थानीय भावना र स्थानीय आवश्यकताले भन्छ– भरतपुरको मेयर कांग्रेसको बन्नुपर्छ, तालमेल भए तालमेलबाट नभए मित्रवत प्रतिस्पर्धा गरौं ।’

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनलाई मिलाएर लैजाने सबै जिम्मेवार हुनुपर्ने बताएका छन् । केन्द्रीय कार्यसम्पादन समिति बैठकमा कांग्रेस सभापतिसमेत रहेका देउवाले यस्तो बताएका हुन् ।

काँग्रेसको नेतृत्वमा गठबन्धनको सरकार रहेको भन्दै उनले चुनावी तालमेलका लागि काँग्रेसकै नेतृत्व संयन्त्र बनेकोले आफूहरु अलि धेरै जिम्मेवार हुनुपर्ने बताए । गठबन्धनबीच चुनावी तालमेल हुने निर्णय भइसकेको भन्दै उनले कार्यान्वयन गरेर जाने कुरामा सबैले सहजीकरण गर्नुपर्ने बताए ।

बैठकमा कार्यसम्पादन समितिका सदस्यले गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिलाई महानगर र उपमहानगरको प्रमुख र उपप्रमुखमा पार्टीको स्ट्रेन्थ अनुसार दाबी राख्न सुझाएका थिए ।

सहमहामन्त्री महालक्ष्मी उपाध्यक्षका अनुसार यस विषयमा थप छलफल गर्न पार्टी उपसभापति पूर्णबहादुर खड्काले भोलि पनि बैठक बोलाइएको छ । यस्तै केन्द्रीय कार्यसम्पादन समितिका सदस्य एनपी साउदले जिल्ला–जिल्लामा तालमेल र उम्मेदवारीमा के कसरी अगाडि बढने बारे छलफल भएको बताए ।

यस्तै काठमाडौं जिल्लाका स्थानीय तहहरुमा जनप्रनिधि छान्न बसेको सत्ता गठबन्धनको बैठक विननिष्कर्ष सकिएको छ । चुनावी तालमेलबारे सहमति खोज्न बसेको सत्तारुढ दलहरुको बैठक विना निष्कर्ष टुंगिएको कांग्रेस, काठमाडौंका जिल्ला सभापति सबुज बानियाँले बताए ।

प्रतिक्रिया दिनुहोस