Latest News

गठबन्धनमा गडबड सुरु भएपछि कांग्रेस बैठकमा देउवाले जब यसो भने…

Nepalese Times April 16, 2022 (2 Year ago)    763 Views

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनलाई मिलाएर लैजाने सबै जिम्मेवार हुनुपर्ने बताएका छन् । शनिबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा कांग्रेस सभापतिसमेत रहेका देउवाले यस्तो बताएका हुन् ।

काँग्रेसको नेतृत्वमा गठबन्धनको सरकार रहेको भन्दै उनले चुनावी तालमेलका लागि काँग्रेसकै नेतृत्व संयन्त्र बनेकोले आफूहरु अलि धेरै जिम्मेवार हुनुपर्ने बताए ।

गठबन्धनबीच चुनावी तालमेल हुने निर्णय भइसकेको भन्दै उनले कार्यान्वयन गरेर जाने कुरामा सबैले सहजीकरण गर्नुपर्ने बताए ।

बैठकमा कार्यसम्पादन समितिका सदस्यले गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिलाई महानगर र उपमहानगरको प्रमुख र उपप्रमुखमा पार्टीको स्ट्रेन्थ अनुसार दाबी राख्न सुझाएका थिए ।

सहमहामन्त्री महालक्ष्मी उपाध्यक्षका अनुसार यस विषयमा थप छलफल गर्न पार्टी उपसभापति पूर्णबहादुर खड्काले भोलि पनि बैठक बोलाइएको छ ।

यस्तै केन्द्रीय कार्यसम्पादन समितिका सदस्य एनपी साउदले जिल्ला–जिल्लामा तालमेल र उम्मेदवारीमा के कसरी अगाडि बढने बारे छलफल भएको बताए ।

यस्तै काठमाडौं जिल्लाका स्थानीय तहहरुमा जनप्रनिधि छान्न बसेको सत्ता गठबन्धनको बैठक विननिष्कर्ष सकिएको छ । चुनावी तालमेलबारे सहमति खोज्न बसेको सत्तारुढ दलहरुको बैठक विना निष्कर्ष टुंगिएको कांग्रेस, काठमाडौंका जिल्ला सभापति सबुज बानियाँले बताए ।

उनका अनुसार स्थानीय तहको नेतृत्व बाँडफाँट नटुंगिएकाले आइतबार फेरि छलफल गर्ने सहमति भएको र अहिले नै कुन पार्टीबाट कहाँ उम्मेदवार उठाउने भन्ने टुंगो नलागेको हो ।

एकीकृत समाजवादीले कागेश्वरी मनोहरा, बुढानीलकण्ठ, तारकेश्वर, शंखरापुर र कीर्तिपुरको नेतत्व दाबी गरेको छ । माओवादी केन्द्रले पनि शंखरापुर, कीर्तिपुर, चन्द्रागिरि, तारकेश्वर र टोखा नगरपालिकाको मेयर दाबी गरेको छ ।

स्थानीय निर्वाचन २०७४ मा काठमाडौंका १० स्थानीय तहमध्ये काठमाडौं महानगरपालिकासहित बुढानीलकण्ठ, शंखरापुर, कीर्तिपुर, तारकेश्वर, कागेश्वरी–मनोहरा र टोखा नगरपालिकाको प्रमुख जितेको थियो । नेकपा एमाले विभाजित हुँदा कागेश्वरी–मनोहराका मेयर र शंखरापुरका उपमेयर एकीकृत समाजवादीतिर लागेका थिए ।

कांग्रेसले दक्षिणकाली, चन्द्रागिरि र गोकर्णेश्वर नगरपालिकाको प्रमुख जितेको थियो । माओवादी केन्द्रले भने १० पालिकामध्ये चन्द्रागिरी नगरपालिकाको वडा नम्बर ८ र शंखरापुर नगरपालिका वडा नम्बर ३ को वडाध्यक्ष मात्रै जितेको थियो ।

 

प्रतिक्रिया दिनुहोस