Latest News

भरतपुरमा कांग्रेसका कार्यकर्ताले दिए सामूहिक राजीनामा, गरे यस्तो घोषणा (पत्रसहित)

Nepalese Times April 16, 2022 (2 Year ago)    617 Views

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका १७ का ५० जना कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् । भरतपुर महानगरपालिका फेरि पनि माओवादीलाई जिम्मा लगाउन लागेको विरोधमा उनीहरुले सामूहिक राजीनामा दिएका हुन् ।

बेलुवा टोलमा शनिवार भेला गरेर पूर्व वडाध्यक्ष देवनारायण महतो, पूर्व वडा सभापति प्रकाश कँडेलसहित ५० जना क्रियाशील कार्यकर्ताले सामूहिक राजीनामा दिएका हुन् ।

राजीनामा दिएका सबैले हस्ताक्षर समेत गरेका छन् । भेला प्रकाश कँडेलको संयोजकत्वमा भएको थियो । भेलाले कांग्रेसबाट राजीनामा दिए पनि देश र जनहितको कामका लागि सधैँ उपस्थित रहने निर्णय गरेको छ ।

केही दिनअघि मात्र भरतपुरका सबै वडा सभापतिहरूको भेलाले महानगरका नेतृत्व माओवादीलाई दिइए मान्य नहुने निर्णय गरेका थिए । राजीनामा दिएकाहरूले कांग्रेस नेतृत्वमाथि विभिन्न आरोपहरू समेत लगाएका छन् ।

भरतपुरको मेयर रेणु दाहाललाई छाडिए कांग्रेसबाटै स्वतन्त्र उम्मेदवारी दिने तयारीसमेत भइरहेका बेला वडाबाट थालिएको सामूहिक राजीनामालाई अर्थपूर्ण रूपमा लिइएको छ ।

यस्तै नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनालले आगामी स्थानीय तह निर्वाचनमा नतिजा प्रतिकुल आए आफूहरूले जिम्मा नलिने बताएका छन् ।

भरतपुर महानगरपालिका प्रमुखको उम्मेदवार नेकपा माओवादी केन्द्रलाई छाड्ने केन्द्रीय निर्णय भएमा त्यस्तो निर्णय मान्न आफू तयार भएको तर नतिजामा जिम्मेवार नहुने खनालले बताए ।

शुक्रबार चितवन आएका काँग्रेस नेता प्रकाशमान सिंहले गठबन्धन जोगाउन भरतपुर महानगर प्रमुख नेकपा माओवादी केन्द्रलाई छाड्ने गरी तालमेल हुने बताएका थिए । सिंहको भनाइले जिल्लामा पुनः तरंग ल्याएको छ ।

भरतपुरमा यसअघि नै एक पटक माओवादी केन्द्रलाई सहयोग गरिसकेकाले आलोपालोको मान्यताअनुसार यसपालि काँग्रेसले पाउनुपर्ने खनालले दोहोर्याए ।

चितवन काँग्रेसले १५ दिनअघि नै संस्थागत निर्णय गरेर भरतपुर महानगरको मेयर नछाड्ने कुरा पार्टी सभापति शेरबहादुर देउवालाई जानकारी गराईसकिएको उनले बताए ।

नजिता सकरात्मक आउने तरिका यो हो भनेर चितवन काँग्रेसले सघन छलफल गरेर केन्द्रीय समितिलाई लिखित प्रतिवेदन बुझाइसकेको भन्दै उनले एकात्मक खालको अवसरबाट गठबन्धनलाई स्थायित्व दिन नसकिने र जुनसुकै बेला दुर्घटनामा पर्न सक्ने बताए ।

विगतमा गरेको सहयोग र वर्तमान संगठनको हिसाबले भरतपुर महानगरले मेयर कांग्रेसले पाउने गरी गठबन्धनका दलसँग चुनावी तालमेल गर्ने काँग्रेसको संस्थागत निर्णय रहेको उनले बताए ।

त्यही निर्णयलाई आत्मसात गर्दै अन्य तहमा तालमेल गर्न जिल्ला संयन्त्रमा सघन छलफल भइरहेको उनले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस