Latest News

प्रचण्डलाई माधव नेपालको फोन, गरे यस्तो गुनासो

Nepalese Times April 16, 2022 (2 Year ago)    848 Views

काठमाडौं । माओवादी केन्द्रको शुक्रबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीका कारण गठबन्धनमा भागबण्डा मिल्न नसकेको ब्रिफिङ् गरे ।

नेकपा एमालेबाट विभाजित भएर थोरै संख्यामा स्थानीय तहका जनप्रतिनिधि ल्याए पनि आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि धेरै भाग खोजेपछि गठबन्धनमा खटपट भइरहेको उनले बताए ।

माधव नेपालमा अझै पनि एमालेमा रहे जस्तै आफूलाई ठूलो दलको नेता सम्झिने बानी नहटेको भनेर प्रचण्डले पार्टीको बैठकमा ब्रिफिङ गरेसँगै एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अध्यक्ष प्रचण्डलाई फोन गरेका छन् ।

उनले सल्लाह बमोजिम नै आफूले नेकपा एमाले विभाजन गरेको भन्दै सार्वजनिक भएका समाचारबारे प्रचण्डलाई फोन गरेका उनको सचिवालयले जनाएको छ । सचिवालयका एक सदस्यले भने, ‘माधव कमरेडले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई टेलिफोन गर्नुभयो । प्रचण्डले पार्टीको बैठकमा गरेको ब्रिफिङबारे जिज्ञासा राख्नुभयो । उहाँले केही गुनासाहरु प्रचण्डसँग राख्नुभयो ।’

उनका अनुसार नेपालले प्रचण्डसँग आफूले प्रचण्डसँग नै सल्लाह गरेर पार्टी विभाजित गरेको र अहिले फेरि कुरा फेर्न थालेको गुनासो गरेका थिए । जवाफमा प्रचण्डले आफूले त्यस्तो चित्त दुखाउने कुरा नगरेकोले भ्रममा नपर्नसमेत आग्रह गरेका थिए ।

‘तपाई र मेरो सल्लाहअनुसार नै तपाईले एमाले विभाजित गर्नुभएको हो । बाहिरिएका समाचारप्रति धेरै भ्रमित नहुनुहोला’ अध्यक्ष प्रचण्डले भने, ‘अहिले गठबन्धन टुटाउने ठूलो प्रयास भइरहेको छ । यो अवस्थामा हामी निक्कै संवेदनशील भएर अघि बढ्नुपर्ने हुन्छ ।’

यस्तै टेलिफोन कुराकानीमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकप एकीकृत समाजवादी केन्द्रका अध्यक्ष नेपालबीच चुनावी तालमेलबारे पनि कुराकानी भएको थियो । उनीहरुबीच नेपाली कांग्रेसले चुनावी तालमेल गरेर अघि बढ्न नचाहेका पालिकाहरुमा माओवादी र समाजवादीलगायत दलहरु मिलेर अघि बढुनुपर्नेबारे कुराकानी भएको स्रोतको भनाइ छ ।

माओवादीको शुक्रबार बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकलाई सम्बोधनका क्रममा प्रचण्डले सबै पार्टीबीच व्यापक छलफल गरेर जानुपर्ने बताएका छन्। गठबन्धनमा व्यापक रुपमा छलफल गरेर जानुपर्ने भन्दै उनले गठबन्धनको बैठकमा आफ्नो आधार टेकेर यथार्थ खोज्ने ढंगले प्रस्तुत हुनुपर्ने बताए ।

प्रचण्डले देशका कयौँ ठाउँमा समस्या आए पनि कांग्रेस सभापति शेरबहादुर देउवा मुख्य गठबन्धनकै पक्षमा रहेको ब्रिफिङ गरेका छन्। अध्यक्ष प्रचण्डले देशभरका सबै गाउँपालिकाबाट माओवादीको पनि रिपोर्ट आइनसकेकाले उम्मेदवारी छनौट अझै केही समय लाग्ने पनि बताए ।

यस्तै स्थानीय तहको निर्वाचनमा सिन्धुलीको सुनकोशी गाउँपालिकामा नेपाली काँग्रेस एकल रुपमा चुनावमा जाने भएको छ । शनिबार गाउँपालिकाका ७ वटै वडाका वडा सभापतिको बैठक बसी आगामी निर्वाचनमा कुनै पनि पार्टीसँग गठबन्धन नगरी एकल रुपमा चुनावमा जाने निर्णय गरेको हो ।

आगामी निर्वाचनमा केन्द्रिय तहदेखि प्रदेश, जिल्ला र स्थानीय तहमा सत्तारुढ गठबन्धन गर्ने निर्णय गरेको भए पनि सुनकोशी गाउँपालिकाका सबै वडाहरू त्यसको पक्षमा नरहेकाले एकल रुपमा जाने निर्णय गरिएको छ ।

सत्तारुढ गठबन्धनमा रहेका दलहरु दलीय भागबण्डाको मोडालिटी बनाउन सक्रिय रहेपनि यस गाउँपालिका प्रमुखरउपप्रमुखदेखि वडा तहसम्म एकल रुपमा उम्मेदवार उठाउने बैठकले निर्णय गरेको छ । बैठकले उक्त निर्णय माथिल्लो निकायमा पठाउने भएको छ ।

यस्तै लगातार पाँच दिनसम्म संखुवासभाको खाँदबारीमा चलेको सत्तारुढ गठबन्धनको बैठकले तालमेलको सहमति जुटाउन नसकेको हो । शुक्रबार बसेको बैठकमा पनि भागबण्डाको कुरा नमिलेपछि गठबन्धनका नेताहरु बिना निष्कर्ष उठेर हिँडेका एक नेताले बताए । माओवादी केन्द्रसँग गठबन्धन हुने सम्भावना सकिएको गठबन्धनका संयोजक एवम् कांग्रेस सभापति दीपक खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस