Latest News

राप्रपा प्रवक्ता श्रेष्ठले कमल थापालाई दिए कडा जवाफ

Nepalese Times April 16, 2022 (2 Year ago)    884 Views

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई कडा जवाफ फर्काएका छन् ।

उनले २०६२–६३ को परिवर्तन हुँदा आफू २९ वर्षको रहेको र परिवर्तनको वहावमा बहने छुट अरुलाई जस्तै आफूहरुलाई पनि रहेको भन्दै अलग एजेन्डा अघि बढाउने थापाको दृढतालाई साथ दिने अठोट लिएर व्यक्तिगत जीवनका सबै सम्भावनालाई त्यागरेको स्मरण गरेका छन् ।

यस्तै उनले महाधिवेशनमा अध्यक्ष पदमा पराजय थापाका लागि अकल्पनीय बन्नपुगेको र हिन्दुराष्ट्र र राजसंस्थाको मुद्दालाई अघि पनि नबढाउने र अरुको हातमा जान पनि नदिने सर्वसत्तावादी सोच राष्ट्रपतिको प्रस्तावक बसेको दिन नै बुझ्न र चिन्न नसक्नु नै आफूहरुको अन्धविश्वास रहेको र भुल रहेको बताएका छन् ।

सामाजिक संजालमा ट्वीट गर्दै उनले बाटो अलग भइसकेपछि आफूहरुको एजेन्डाप्रति भ्रम छर्ने कामको नेतृत्व नगर्नसमेत राप्रपा नेपालका अध्यक्ष थापासँग आग्रह गरेका छन् ।

दुनियाँले कुरा बुझिसकेका भन्दै प्रवक्ता श्रेष्ठले राप्रपा नेपालका अध्यक्ष थापालाई गणतन्त्रको तपाईंको यात्रा सुखद रहोस् भनेर शुभकामनासमेत दिएका छन् । जसरी कमल थापाले राजसंस्थाको एजेन्डा परित्याग गरे त्यसैगरी हिन्दुराष्ट्रको एजेन्डा परित्याग गरेको खबर बाहिरियो भने पनि आश्चर्यचकित हुनुपर्ने अवस्था नरहेकोसमेत बताएका छन् ।

केही समयअघि थापाले एक ट्वीट गर्दै अन्ततः राष्ट्रिय प्रजातन्त्र पार्टीका सबै व्यक्तिहरु आफ्नै बाटोमा आउनेसमेत आफूलाई थाहा भएको बताएका थिए ।अहिले गालि गलौज र आरोपहरु खेपेर भएपनि आफूले बलियो घर बनाएर राखिराख्ने भन्दै थापाले पहिले पनि आफूले बनाएकै घरमा अरु आएर बसेको बताएका थिए ।

यस्तै राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले परिवर्तनको लागि होमिएका युवालाई अरेबियनको नोकर बन्न नेपालीलाई किन बाध्य बनाएको भनेर ठूला दलहरुलाई प्रश्न गरेका छन् ।

राप्रपा चितवनले भरतपुरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै लिङदेनले कृषि प्रधान देश भन्ने तर किसानले पैसा तिरेर पनि मल किन्न नपाउने, सिटामोल देऊ भनेर अदालतले आदेश दिनुपर्ने दुरुह अवस्था आउनुमा ठूला दल नै दोषी भएको बताए ।

ठूला भन्ने दलहरूले विदेशीको सहयोग बिना नेपाललाई बनाउन नसक्ने सोचिरहेको भन्दै उनले भने, ‘अब नेपाली मतदातासंग एक चुनाव हेरौं भन्ने समय छैन । जनता कुनै राजनैतिक दलको गोठमा बाँधेका गाइवस्तु होइनन् ।’

अध्यक्ष लिङ्देनले कसैले उद्योग खोल्न चाह्यो भने सबै दललाई भाग छुट्याउनुपर्ने अवस्था रहेको भन्दै उनले सामान्य कर तिर्न पनि कमिसन खुवाउनुपर्ने बताए । सुकुमबासीलाई एक टुक्रा कागज दिएर दलहरुले मागि खाने भाँडो बनाएको उनको भनाइ छ ।

राप्रपा उपाध्यक्ष विक्रम पाण्डेले सत्ताधारी दल र नेताहरुले उद्योग बेचेर ठूलो भ्रष्टाचार गरेका छन् । जसले गर्दा देशको व्यापार घाटा बढ्दै गएको छ’, पाण्डेले भने । एमसीसी भन्ने चक्रब्यूह खडा गरेर सरकारले भ्रम छरेको भन्दै उनले कोशी र कर्णालीमा फसे जसरी फेरि पनि नेपाल फस्न लागेको उनले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस