Latest News

निर्वाचनको मिति सार्न चर्को दबाबपछि प्रमुख निर्वाचन आयुक्तले दिए कडा प्रतिक्रिया

Nepalese Times April 16, 2022 (2 Year ago)    688 Views

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव समूहलाई पनि चुनावी प्रक्रियामा सहभागी गराउन भन्दै सरकारले निर्वाचनको मिति पर सार्ने जमर्को गरिरहेको छ ।

सत्तारुढ दलहरुबीच चुनावी तालमेलका लागि थप गृहकार्य आवश्यक रहेको देखेका सत्तारुढ खलहरुले पनि चुनावको मिति सार्नुपर्ने भन्दै आएका छन् ।

चुनावको मिति सार्न चर्को दबाब आइरहेको समयमा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले अब स्थानीय तहको निर्वाचन रोकिए देश ठूलो दुर्घटनातर्फ जाने चेतावनी दिएका छन्।

निर्वाचनको समय नजिकिँदै गर्दा निर्वाचन सर्छ भन्ने विभिन्न टिकाटिप्पणी चलिरहेको बेला प्रमुख आयुक्त थपलियाले त्यसो भएमा देश ठूलो दुर्घटनामा पर्न सक्ने चेतावनी दिएका हुन्।

शनिबार जनकपुरधाममा स्थानीय तह निर्वाचन २०७९ मिडिया अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले भने, ‘निर्वाचनको मिति तोकेर, गन्तव्य तोकेर क्षेप्यास्त्र प्रक्षेपण भइसकेको अवस्था हो। यसलाई तलमाथि, वरपर वा कुनै तरिकाले परिवर्तन गर्न खोज्नु भनेको दुर्घटना निम्त्याउनु हो।’

उनले निर्वाचनको मिति तय हुँदा छलफल र संविधानरकानुनका विषयमा तर्कवितर्क भएकै थिए भन्दै उनले अब सरकारले निर्वाचनको मिति तय गरिसकेकाले अब तर्कवितर्कको आवश्यकता नरहेको टिप्पणी उनले गरे।

प्रमुख आयुक्त थपलियाले निर्वाचनको क्रम भंग गर्ने अवस्था नरहेको भन्दै उनले निर्वाचन स्वच्छ, स्वतन्त्र र निष्पक्ष ढंगले हुने धारणा राखे। उनले यसका साथै यसै वर्ष प्रतिनिधिसभा, प्रदेशसभा, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन समेत सम्पन्न हुने दाबी गरे।

थपलियाले निर्वाचन आचारसंहितालाई सामान्य नठान्न भन्दै यसको उलंघन गरे कारबाही हुने चेतावनी पनि उनले दिए। यसअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधकव कुमार नेपालले पनि विप्लव समूहले चुनावमा सहभागी हुने भए मिति सार्न सकिने अभिव्यक्ति दिएका थिए ।

यस्तै सत्ता गठबन्धनबीच चुनावी तालमेलको विषयलाई लिएर खटपट सुरु भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग रुष्ट बन्दै गएका छन् । यस्तो अवस्थामा चुनावको मिति पर धकेल्ने प्रपन्च सुरु भएको सत्तारुढ दलकै नेताहरुले बताउन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस