Latest News

महानगरका मेयर उम्मेदवार छान्न कांग्रेसले बोलायो बैठक, कुन महानगरमा कसले टिकट पाउँदै ?

Nepalese Times April 16, 2022 (1 Year ago)    727 Views

काठमाडौं । विभिन्न महानगरपालिका र उपमहानगरपालिकाका मेयर र उपमेयरबारे छलफल गर्न भन्दै नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

६ महानगरपालिका र ११ उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवारबारे छलफल गर्न बैठक बस्न लागेको नेपाली कांग्रेसका एक नेताले बताए ।

बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । सत्तारुढ गठबन्धनमा महानगरपालिका र नगरपालिकाकाको भागवण्डाबारे अझै सहमति भएको छैन ।

यसबारे केन्द्रीय संयन्त्रले नै टुंगो गर्ने सहमति भएको छ तर ६ वटै महानगरपालिकामा मेयर नछाड्न कांग्रेस नेतृत्वमाथि तल्लो कमिटीहरूबाट चर्को दबाब छ ।

ललितपुर महानगरपालिकाको मेयरमा नेपाली काँग्रेसबाट ८ जनाले आकांक्षा देखाएका छन् । महानगरपालिकाका वर्तमान मेयर चिरिबाबु महर्जन, वर्तमान उपमेयर गीता सत्यालसहित ८ जनाले मेयरमा र उपमेयरमा ५ जनाको नाम सिफारिस भएको ललितपुर जिल्ला सभापति जीतेन्द्रकुमार श्रेष्ठका जानकारी दिए ।

त्यस्तै, अन्य मेयरका लागि प्रेमकृष्ण महर्जन, अनन्त श्रेष्ठ, चन्द्र महर्जन, शिवानन्द धाख्वा, भरतलाल न्याछ्यु, राजेश महर्जनको नाम सिफारिस भएको श्रेष्ठले जानकारी दिए । त्यसैगरी, उपमेयरमा रामकुमारी लिम्बु, भगवती शाही, मोद्वती केसी, फरिन्दा महर्जन, प्रविना शर्माको नाम सिफारिस भएको छ । यद्यपि केन्द्रले मौखिक रुपमा आकांक्षीहरुको सिफारिस केही समय होल्ड गर्न भनेकाले आकांक्षीहरु अझै बढ्ने सभापतिले बताए ।

यस्तै भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइराला, टेकप्रसाद गुरूङ, सूर्यकान्त घिमिरे, उत्तम जोशी, शंकर कँडेल लगायतले आकांक्षा देखाएका छन् ।

२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा कांग्रेसले माओवादीसँग गठवन्धन गरेर भरतपुर महानगरको मेयरमा रेनु दाहाललाई जिताएको थियो । तर, सत्ता गठवन्धनमा रहेका कांग्रेस र माओवादीबीच मेयर कसले लिने भन्ने टुंगो लागेको छैन । कांग्रेसले भने कुनै हालतमा महानगरपालिका छाड्न नहुने बरु कांग्रेस एक्लै निर्वाचनमा गएर जित्ने बताउँदै आएका छन् ।

यस्तै काठमाडौं महानगरपालिकामा पूर्वमेयर तिर्थमान डंगोल, वर्तमान ‘उपप्रमुख’ हरिप्रभा खड्गी कांग्रेसबाट मुख्य आकांक्षीको रुपमा देखिएका छन् । यस्तै कांग्रेस काठमाडौं महानगर सभापति निलकाजी शाक्य, सभापतिका अर्का उमेदवार प्रगतिमान रञ्जित पनि मेयरको दौडमा छन् ।

महानगरको नेतृत्व गर्नका लागि अघिल्लो चुनावका मेयरका उमेदवार राजुराज जोशी पनि उमेदवारको दौडमा छन् । यस्तै १६ नम्बर वडाका वर्तमान वडा अध्यक्ष तथा क्षेत्र नम्बर ६ का कांग्रेस सभापति मुकुन्द रिजाल पनि मेयर पदका आकांक्षी हुन् ।

यस्तै स्थानीय तह निर्वाचनमा पोखरा महानगरमा सत्तारुढ गठबन्धनका अरु दलले दावी गरिरहँदा कांग्रेसले भने मेयर छाड्न नसकिने बताएको छ। कुनैपनि हालतमा पोखरा महानगरको मेयरको उम्मेदवारी पाउनुपर्ने कांग्रेसको दावी छ।

यस्तै कांग्रेसभित्र कोइराला परिवारका नेताहरूको लिगेसी बोकेको विराटनगरमा कसले नेतृत्व हत्याउने भन्नेबारे बहस चर्को बन्दै गइरहेको छ ।

०७४ को निर्वाचनमा विराटनगरको प्रमुख र उपप्रमुख दुवै पदमा कांग्रेस विजयी भएको थियो । प्रमुखमा कांग्रेसका भीम पराजुलीले २३ हजार ३१ मत ल्याएर विजयी भएका थिए । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका विनोदप्रसाद ढकालले १७ हजार ३२१ मत ल्याएका थिए ।

बहालवाला मेयर पराजुली, कांग्रेस केन्द्रीय सदस्य डिला संग्रौला, मोरङ उपसभापति नागेश कोइराला, उपमेयर इन्दिरा कार्कीलगायतको नाम कांग्रेसभित्र विराटनगरको मेयरका लागि चर्चामा छन् ।

प्रतिक्रिया दिनुहोस