Latest News

प्रचण्ड र माधव नेपालबीच खटपट सुरु, गठबन्धनमा खैलाबैला

Nepalese Times April 15, 2022 (2 Year ago)    1024 Views

काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीका कारण गठबन्धनमा भागबण्डा मिल्न नसकेको संकेत गरेका छन्।

शुक्रबार काठमाडौंमा बसेको केन्द्रीय कार्यालय बैठकमा ब्रिफिङका क्रममा प्रचण्डले एकीकृत समाजवादीका कारण गठबन्धनमा भागबण्डा मिल्न नसकेको बताएका हुन् ।

नेकपा एमालेबाट विभाजित भएर थोरै संख्यामा स्थानीय तहका जनप्रतिनिधि ल्याए पनि आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि धेरै भाग खोजेको पनि उनले भने ।

प्रचण्डले माधव नेपालमा अझै पनि एमालेमा रहे जस्तै आफूलाई ठूलो दलको नेता सम्झिने बानी नहटेको बताएका केन्द्रीय कार्यालय बैठकमा सहभागी एकजना नेताले बताए ।

पछिल्ला दिनमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले गठबन्धन छाड्ने चेतावनी दिइरहेको छ। कांग्रेसका पनि कयौँ कमिटीले गठबन्धन मान्न नसकिने अडान लिइरहेका छन्।

जनता समाजवादीले बाँकेमा गठबन्धन छाडेर एकल उम्मेदवारी घोषणा गरिसकेको छ। यस्तै प्रचण्डले आगामी स्थानीय तह निर्वाचनका लागि पाँच दलीय गठबन्धनमा व्यापक छलफल गरेर जानुपर्ने बताएका छन्।

माओवादीको शुक्रबार बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकलाई सम्बोधनका क्रममा प्रचण्डले सबै पार्टीबीच व्यापक छलफल गरेर जानुपर्ने पनि बताएका छन्। गठबन्धनमा व्यापक रुपमा छलफल गरेर जानुपर्ने भन्दै उनले गठबन्धनको बैठकमा आफ्नो आधार टेकेर यथार्थ खोज्ने ढंगले प्रस्तुत हुनुपर्ने बताए ।

प्रचण्डले देशका कयौँ ठाउँमा समस्या आए पनि कांग्रेस सभापति शेरबहादुर देउवा मुख्य गठबन्धनकै पक्षमा रहेको ब्रिफिङ गरेका छन्। अध्यक्ष प्रचण्डले देशभरका सबै गाउँपालिकाबाट माओवादीको पनि रिपोर्ट आइनसकेकाले उम्मेदवारी छनौट अझै केही समय लाग्ने पनि बताए।

प्रतिक्रिया दिनुहोस