Latest News

चुनाव सकिएपछि कमल थापालाई एमाले उपाध्यक्ष बनाउने ओलीको यस्तो तयारी, तनावमा रावल

Nepalese Times April 15, 2022 (2 Year ago)    727 Views

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा नेकपा एमालेमा प्रवेश गर्ने अन्तिम तयारी भइरहेको खुलेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टी प्रवेश गराउने र उपाध्यक्ष पद दिने तयारी भइरहेको स्रोतको दाबी छ ।

त्यसैको तयारीस्वरुप अहिले नेकपा एमाले र राप्रपा नेपालबीच चुनावी तालमेल गर्ने सहमति भएको बुझिएको छ । त्यसमा पनि राप्रपा नेपालका उम्मेदवार एमालेको सूर्य चिन्हबाट उठ्ने निर्णयले कमल थापा र उनको पार्टी नेकपा एमालेमा समाहित हुन लागेको विषय पुष्टि हुँदै गएको छ ।

लामो समय राजतन्त्रसहितको सनातन हिन्दु राष्ट्रको मुद्धा बोकेर हिँडेका कमल थापाले अहिले राजाको विपक्ष कित्तामा उभिएका छन् । पूर्वराजा ज्ञानेन्द्रकै कारण आफूले राप्रपाको चुनाव हारेको भन्दै उनले खुलेर विरोध गर्ने गरेका छन् ।

उनले नेकपा एमाले र एमाले अध्यक्ष केपी शर्मा ओलीविरोधी अभिव्यक्ति भने दिन छाडेका छन् । एमसीसी परियोजना संसदबाट पास होस् या प्रतिनिधिसभा २ पटक विघटन हुँदा उनले एमाले अध्यक्ष ओलीको समर्थन गरेका थिए ।

कमल थापालाई नेकपा एमालेको चुनाव चिन्ह सूर्य दिने र चुनावपछि उनलाई उपाध्यक्ष पदसहित पार्टी प्रवेश गराउने अध्यक्ष ओलीको तयारीका कारण एमाले नेता भीम रावल भने तनावमा परेका छन् ।

नेकपा एमाले विभाजित हुँदा एमालेमै बसेका उनी पार्टीको महाधिवेशनमा अध्यक्ष पदमा ओलीसँग पराजित भएका थिए । उनी एमालेमा अहिले कमजोर पृष्ठभूमीमा रहेका छन् । विगतमा पार्टीमा प्रभाव राख्ने नेता भएपनि अहिले पार्टीभन्दा बहिरकालाई प्राथमिकता दिएकोमा रावल तनावमा रहेका छन् ।

आगामी स्थानीय तह निर्वाचनमा राप्रपा नेपाल र परिवार दलका उम्मेदवारले सूर्य चुनाव चिह्न लिएर चुनाव लड्ने गरि एमालेसँग तालमेल भएको भोलिपल्ट नेता रावलले ‘के सूर्य चिह्न बिक्री हुने व्यवसायिक चिह्न हो र ?’ भन्दै प्रश्न गरेका छन्।

‘विपरीत सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिह्नमा लड्ने तर एमाले हुनु नपर्ने रे ।’ बिहीबार सामाजिक सञ्जालमा रावलले प्रश्न गरेका छन्, ‘के सूर्य चिह्न बिक्री हुने व्यवसायिक चिह्न हो र ?’

उनले यस्तो कामलाई ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम दिएजस्तो भन्दै टिप्पणी गरेका छन्। ‘यसलाई ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम दिएजस्तो गर्न मिल्छ र ? दलीय प्रणाली र कम्युनिष्ट पार्टीको फजिती मात्र ।’ उनले भनेका छन्।

प्रतिक्रिया दिनुहोस