Latest News

भारतीय राजदूतको रात्रिभोजमा प्रधानमन्त्री र नेता पुगेपछि भीम रावलले दिए यस्तो कडा प्रतिक्रिया

Nepalese Times April 13, 2022 (1 Year ago)    509 Views

भारतीय राजदूत विनयमोहन क्वात्राले आयोजना गरेको रात्रिभोजमा प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्रीसम्म शीर्ष नेता सहभागी भएको घटनाको यति बेला निकै विरोध भइरहेको छ ।

एकजना सहसचिवस्तरको भारतीय कर्मचारीको बिदाइ कार्यक्रमका लागि बहालवाला प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री तथा पूर्वसभामुखसम्म लर्को लागेर लैनचौरस्थित भारतीय दूतावास पुगेको भन्दै चौतर्फी आलोचना भइरहेको छ।

नेकपा एमालेका नेता भीम रावलले पनि कडा शब्दमा टिप्पणी गरेका छन्। उनले कूटनीतिक मर्यादा र स्वाभिमानलाई तिलाञ्जली दिँदै विदेशभक्ति छताछुल्ल पारेको भन्दै आलोचना गरेका हुन्।

‘भारतीय राजदूतको बिदाइ रात्रिभोजमा प्रम शेर ब देउवा, पूर्व प्रम माधव नेपाल र पुष्पकमल दाहाल, संविधान सभाका अध्यक्ष सुवास नेम्वाङलगायतका नेताहरू लर्को लागेर दूतावास गएको समाचार पढियो’, रावलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘कूटनीतिक मर्यादा र स्वाभिमान भातेकुर्सीले छोपिएपछि विदेशभक्तिको नग्न रूप देखिँदो रहेछ। लाज पचेपछि।’

भारतीय राजदूतको विदाई रात्रिभोजमा प्रमं शेर ब.देउवा,पूर्व प्रमं माधव नेपाल र पुष्पकमल दाहाल, संविधानसभाका अध्यक्ष सुवास नेम्वांग लगायतका नेताहरू लर्को लागेर दूतावास गएको समाचार पढियो। कूटनीतिक मर्यादा र स्वाभिमान भातेकुर्सीले छोपिएपछि विदेशभक्तिको नग्न रूप देखिदो रहेछ।लाज पचेपछि!

भारतीय राजदूतको बिदाइ कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, भौतिक पूर्वाधार मन्त्री रेणुकुमारी यादव, श्रम तथा रोजगार मन्त्री किशन श्रेष्ठ, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा, कृषिमन्त्री महेन्द्र यादव, ऊर्जा मन्त्री पम्फा भुसाल लगायत मन्त्रीपरिषद्का सदस्य सहभागी थिए ।

भारतीय राजदूतको बिदाइ एवं रात्रिभोज कार्यक्रममा संविधानसभा अध्यक्ष सुवास नेम्वाङ, एमाले विदेश विभाग प्रमुख राजन भट्टराई, एमाले नेता सुरेन्द्र पाण्डे, सांसद शेरबहादुर तामाङ लगायत पुगेको थिए । काँग्रेसका नेताहरू विमलेन्द्र निधी, रामशरण महत लगायतका नेताहरू थिए । मधेशकेन्द्रीत दलबाट लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष राजेन्द्र महतो लगायत थुप्रै नेताहरू सहभागी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस