Latest News

प्रधानमन्त्री देउवा र विप्लवबीच भेटवार्ता, के–के भयो कुराकानी ?

Nepalese Times April 13, 2022 (1 Year ago)    707 Views

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री देउवालाई भेट्न विप्लव प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । बालुवाटारमा भएको भेटघाटमा विप्लवले स्थानीय तहको निर्वाचनमा सहभागी हुने वातावरण बनाउन प्रधानमन्त्री देउवासँग आग्रह गरेका छन् ।

प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनको प्रकृया धेरै अगाडि बढिसकेकाले अहिले सहभागी गराउन कठिन भएको जवाफ दिएका थिए।

संघ र प्रदेशको निर्वाचनमा दल दर्तालगायतका प्रकृया पूरा गरेर अघि बढ्न विप्लवलाई प्रधानमन्त्री देउवाको सुझाव छ । भेटमा सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयनका विषयमा छलफल भएको नेकपाका एक नेताले जानकारी दिए ।

नेकपाको हालै सम्पन्न केन्द्रीय समिति बैठकले स्थानीय तह निर्वाचन उपयोग गर्ने रणनीति लिएको थियो । केही दिनअघि नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड दल दर्तालगायतका विषयमा छलफल गर्न निर्वाचन आयोग पुगेका थिए ।

नेकपाभित्र विप्लव र प्रकाण्ड चुनावको उपयोग गर्ने पक्षमा छन् भने हेमन्तप्रकाश वली ‘सुदर्शन’, धर्मेन्द्र बास्तोला चुनाव बहिष्कार गर्ने अडानमा छन् ।नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई स्थानीय चुनावमा कसरी सहभागी गराउनेबारे बुधबारको मन्त्रिपरिषद् बैठकमा छलफल भएको छ ।

आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा भाग लिने वातावरण बनाउन माग गर्दै आएको सो पार्टीका मागबारे सरकारले औपचारिक छलफल सुरु गरेको हो ।

यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन सार्ने षड्यन्त्र भइरहेको बताएका छन् । मोरङको विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचन नगर्न षड्यन्त्र भइरहेको भन्दै यस्ता षड्यन्त्रलाई अदालत र निर्वाचन आयोगले मान्न नहुँने बताए ।

उनले देश टाट उल्टिने अवस्थातर्फ गएको भन्दै देशको अर्थतन्त्र अत्यन्त भयावह अवस्थातर्फ गइरहेको बताए । उनले भने, ‘हाम्रै अगाडि श्रीलंकाको उदाहरण छँदैछ । श्रीलंका अत्यन्त अफ्ठ्यारो अवस्थामा पुगेको छ, नेपाल त्यता जाँदैन भन्न सकिंदैन ।’

प्रतिक्रिया दिनुहोस