Latest News

एमाले र राप्रपा नेपालबीच ५ बुँदे सहमति, कमल थापालाई एमाले प्रवेश गराउन यसरी हुँदै छ तयारी

Nepalese Times April 13, 2022 (2 Year ago)    731 Views

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच स्थानीय तह निर्वाचनमा तालमेल गर्नका लागि ५ बुँदे सहमति भएको छ ।

बुधवार भएको छलफलपछि दुवै दलका नेताहरुबीच ५ बुँदे सहमतिमा भएको छ । सहमतिमा माले स्थानीय विकास विभागका प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका सुशील कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सहमति अनुसार राप्रपा नेपालका उम्मेदवारहरूले सूर्य चिन्ह लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने र निर्वाचित भएपछि उनीहरू राप्रपा नेपालमै आबद्ध रहने छन् ।

अहिले स्थानीय तहको चुनावमा तालमेल गर्ने र चुनावपछि आवश्यक वातावरण तय गरेर राप्रपा नेपालका अध्यक्ष्ग कमल थापालाई एमाले प्रवेश गराउने तयारी भएको स्रोतले जनाएको छ । त्यसैको तयारी अनुसार राप्रपा नेपालका अध्यक्ष थापालाई राजतन्त्र बिउँताउने मुद्धा त्याग्न लगाइएको एमालेका एक नेताले बताए ।

उनले भने, ‘कमल थापा पहिलेदेखि नै राजतन्त्रको पक्षत्रर भएकोले अहिले नै पार्टी प्रवेश गराउन अप्ठ्यारो भएकोले उनलाई केही समय अर्कै पार्टीमा रहन दिने र राजतन्त्रको मुद्धा त्याग्न लगाउने कुरा भएको थियो । त्यसैअनुसार उनले राप्रपा नेपाल ब्युँताएर राजतन्त्रको मुद्धा त्यागेका छन् । अब उनी राजतन्त्रको मुद्धाबाट पछि हटेसँगै एमालेसँग एकीकरणको बाटो खुल्दै गएको छ ।’

यसअघि राप्रपा नेपालको नेतृत्व सम्हाल्नुभन्दा पहिले राप्रपामा रहेको समयमा पनि उनी नेकपा एमाले प्रवेश गर्ने तयारी गरेको भनेर चर्चा सुरु भएको थियो । पछिल्लो समय उनले नेकपा एमालेको समर्थनमा अभिव्यक्ति दिँदै आएका छन् ।

बुधबार नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र राप्रपा नेपालका अध्यक्ष कमल थापाको उपस्थितिमा दुई पार्टीबीच सहमतिपत्र आदानप्रदान भएको छ ।

सहमति अनुसार देशभर सम्भव गएको ठाउँमा एमाले र राप्रपा नेपालबीच तालमेल हुनेछ र राप्रपा नेपालका उम्मेदवारले पनि सूर्य चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन् ।

राप्रपा नेपालले आफ्नो उम्मेदवार नभएको ठाउँमा नेकपा एमालेका उम्मेदवारलाई सघाउनेछ भने एमालेले पनि राप्रपा नेपालका उम्मेदवारलाई सघाउने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस