Latest News

एमालेले टुङ्गो लगायो १३ पालिकामा उम्मेदवार, को -को भए सिफारिस ?

Nepalese Times April 13, 2022 (2 Year ago)    902 Views

स्थानीय तहको आसन्न निर्वाचनका लागि बागमती प्रदेशका ११९ वटा पालिकामध्ये १३ वटा पालिकाको प्रमुख पदका उम्मेदवार टुङ्गो लगाएको छ । नेकपा एमाले बागमती प्रदेशका उपसचिव एवम् प्रचार विभाग प्रमुख महेश बर्तौलाका अनुसार एमालेले मकवानपुरका ५ वटा पालिकामा उम्मेदवार चयन गरिसकेको छ ।

उनका अनुसार एमालेले मकवानपुरको हेटौंडा उपमहानगरपालिका, मकवानपुरगढी गाउँपालिका, बागमती गाउँपालिका, बकैया गाउँपालिका र राक्सिराङ गाउँपालिका प्रमुख मा उम्मेदवारका विषय टुङ्ग्याएको हो । जिल्लाका अन्य ६ वटा पालिकामा उम्मेदवार छान्ने काम जारी रहेको उनले बताए ।

त्यस्तै सिन्धुलीका २, चितवन, धादिङ, रामेछाप, ललितपुर, काभ्रे र रसुवाको एक÷एक पालिकामा पनि एमालेले उम्मेदवार चयन गरिसकेको छ । एमालेले धादिङको सिद्धलेक गाउँपालिका, सिन्धुलीको मरिण गाउँपालिका, गोलन्जोर गाउँपालिका, चितवनको भरतपुर महानगरपालिका, ललितपुरको ललितपुर महानगरपालिका, काभ्रेको चौरीदेउराली गाउँपालिकाका प्रमुख, उपप्रमुख र वडा तहका उम्मेदवारहरू टुङ्ग्याएको उपसचिव बर्तौलाले बताए ।

को कहाँ उम्मेदवार ?

नेकपा एमालेले एमालेले सिन्धुलीको मरिण गाउँपालिका अध्यक्षमा गोविन्दलाल माझीलाई उम्मेदवार बनाउने भएको छ । उम्मेदवारका रुपमा उनको नाम सर्वसम्मत सिफारिस भएको हो ।

यस्तै गोलन्जोर गाउँपालिकाको अध्यक्ष पदमा शंकर बराललाई एमालेले उम्मेदवार बनाउने भएको हो । एमालेले भरतपुर महानगरको प्रमुखमा बागमती प्रदेशसभा सदस्य विजय सुवेदीलाई उम्मेदवार बनाउने भएको छ । ७ वटा स्थानीय तह रहेको चितवनमा एमालेले एउटा पालिकाको प्रमुख पदमा मात्र उम्मेदवार टुङ्ग्याएको छ ।

प्रदेशसभा निर्वाचनमा चितवन निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ बाट निर्वाचित सुवेदी अष्टलक्ष्मी शाक्य नेतृत्वको तत्कालीन सरकारमा सामाजिक विकास मन्त्री थिए । भरतपुर महानगरपालिकाको उपमेयर पदका लागि भने एमालेमा अझै सहमति जुट्न सकेको छैन । उपमेयर पदमा एमालेबाट शारदा कुमाल, दिव्य आचार्य, गीता श्रेष्ठ, मुना श्रेष्ठ लगायतले आकांक्षा राखेका छन् ।

बागमती प्रदेशको अर्को महत्वपूर्ण महानगरपालिका ललितपुरमा एमालेले हरिकृष्ण व्यञ्जनकारलाई उम्मेदवार बनाउने भएको छ । उनी अघिल्लो निर्वाचनमा पनि एमालेबाट उम्मेदवार थिए । त्यतिबेला उनले २४ हजार ३१६ मत पाएका थिए ।

एमालेले ललितपुर महानगरमा पनि उपमेयर पदको उम्मेदवार चयन गर्न सकेको छैन । यस्तै, धादिङको सिद्धलेक गाउँपालिकामा एमालेले प्रेमनाथ सिलवाललाई अध्यक्ष पदमा उम्मेदवार बनाउने भएको छ । उनी दोस्रो कार्यकालका लागि चुनावी मैदानमा उत्रिने भएका हुन् । पालिका उपाध्यक्षमा पनि एमालेले पुनः कमला शर्मालाई उम्मेदवार बनाउने भएको छ ।

एमालेले हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा ३ जनाको नाम सिफरिस गरेको छ । उम्मेदवारमा सहमति जुट्न नसकेपछि तीन जनाको नाम सिफारिस गरिएको हो । एमालेले बहालवाला मेयर हरिबहादुर महत, संविधानसभा सदस्य अनन्त पौडेल र गणेशकुमारी प्रधान श्रेष्ठको नाम मेयरको उम्मेदवारका रुपमा सिफारिस गरेको हो ।

उपमेयर पदका लागि पनि एमालेले ३ जनाको नाम सिफारिस गरेको छ । सुमित्रा काफ्ले, आरती पाठक र इन्द्र नेपाललाई उपमेयरको उम्मेदवारका रुपमा सिफारिस गरेको हो ।

एमालेको केन्द्रीय समितिले तोकेको कार्यसूची अनुसार चैत ३० सम्म एमालेले उम्मेदवार सिफारिस गरिसक्नुपर्ने छ ।

२१२ वटा वडामा उम्मेदवार छनौट

एमालेले बागमती प्रदेशका २१२ वटा वडाको अध्यक्ष पदका उम्मेदवार सर्वसम्मत रुपमा छनौट गरिसकेको उपसचिव बर्तौलाले बताए । उनले औपचारिक जानकारी प्राप्त नभए पनि हालसम्म प्रदेशको ११९ वटा स्थानीय तहको १ हजार १२१ वटा वडामध्ये २१२ वटा वडामा सर्वसम्मत रुपमा उम्मेदवार छनौट भइसकेको बताए ।

अन्य वडाको विवरण प्राप्त हुने क्रममा रहेको उनको भनाइ छ । ‘केही वडाको विवरणहरू प्राप्त हुने क्रममा रहेको छ । केहीमा अझै छलफल जारी छ । हामीले दिएको निर्देशनअनुसार काम भइरहेको छ । अबको २÷३ दिनमा सबै वडामा उम्मेदवार छनौट प्रक्रिया सकिन्छ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस