Latest News

सत्ता गठबन्धन बैठक : यस्तो छ महत्वपूर्ण निर्णय

Nepalese Times April 12, 2022 (1 Year ago)    780 Views

काठमाडौं । पाँच दलीय गठबन्धनको बैठकले मातहतको संयन्त्रलाई वैशाख ४ गतेसम्म स्थानीय तहको वस्तुस्थिति पठाउन समय थप गर्ने निर्णय गरेको छ ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले समय थप गरेको नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले बताए ।

बैठकले चुनावी तालमेलको मोडालिटी बनाउने भनिए पनि मातहत संयन्त्रबाट प्रतिवेदन प्राप्त नभएकाले निर्णयमा पुग्न नसिएको सिटौलाले बताए । स्थानीय तहको वस्तुस्थिति पठाउन यसअघि २ पटक समय थप गरिएको थियो ।

बैठकमा स्थानीय तहमा कुन दलको अवस्था कस्तो छ भन्ने रिपोर्ट वैशाख ४ सम्म लिएर तालमेलको लागि तलबाटै रिपोर्ट माग्ने र सम्बन्धित दलले उम्मेदवार तय गर्नेबारे छलफल भएको सिटौलाले बताए ।

यस्तै चितवनको भरतपुर महानगरपालिकामा रहेका कांग्रेसका वडा सभापतिहरूले आगामी चुनावमा मेयरको टिकट कांग्रेसले पाउनु पर्ने निर्णय गरेका छन्।

मंगलबार जिल्ला पार्टी कार्यालयमा भरतपुरका २९ मध्ये २५ वडाका कांग्रेस सभापतिको बैठकले यस्तो निर्णय गरेको हो । उनीहरुले वैशाख ३० मा हुने स्थानीय चुनावमा भरतपुरको मेयर कांग्रेसले पाउनु पर्ने र नपाए विद्रोह गर्ने निर्णय गरेको हो।

भरतपुरको मेयरको टिकट अरू दललाई दिने निर्णय केन्द्रले गरेर पठाए आफूहरूले नमान्ने बैठकमा सहभागी वडा नम्बर १४ का सभापति राजेन्द्र शाँखीले बताए।

कांग्रेसको चितवन जिल्ला कार्यसमितिले पनि भरतपुरको मेयर कांग्रेसले लिएर सत्तारूढ गठबन्धनका दलसँग तालमेल गर्ने निर्णय गरेको भन्दै उनले केन्द्रले जबरजस्ती अरू दलकालाई मेयरको टिकट दिने निर्णय गरे आफूहरुले नमान्ने बताए ।

वडा सभापतिहरूले गरेको निर्णय जिल्ला सभापति राजेश्वर खनाललाई बुझाइसकेको भन्दै उनले चार वडाका सभापति प्राविधिक कारणले बैठकमा नआए पनि निर्णयमा उनीहरूको पनि समर्थन रहेको बताए।

२०७४ को चुनावमा भरतपुरमा कांग्रेसले माओवादीसँग तालमेल गरेर मेयरमा उम्मेदवारी दिएको थिएन। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्वाचन क्षेत्र पनि पर्ने भरतपुरको मेयरमा उनकी छोरी रेनु दाहाल निर्वाचित भएकी थिइन्।

माओवादीले अहिले पनि भरतपुरको मेयर आफैंले राख्न चाहेको छ। चितवन कांग्रेसका नेताहरूले भने भरतपुरको मेयर आफूले पाउनु पर्ने भन्दै लबिङ गरिरहेका छन्।

सत्ता गठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेसको स्थानीय नेतृत्वले यसपटक चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा आफ्नो पार्टीबाट उम्मेदवार हुन पाउनुपर्ने अडान लिइरहेका बेला प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने सत्ता साझेदार नेकपा माओवादी केन्द्रलाई त्यो सिट दिन तयार भएका छन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरमा हाल मेयर रहेकी छोरी रेणुलाई पुनः अवसर दिइनुपर्ने जिकिर गरिरहेका छन्। सोही कुरा उनले प्रधानमन्त्री देउवासमक्ष राखेपछि देउवा गठबन्धन टुट्ने डरले प्रचण्डको माग पूरा गर्न तयार भएको स्रोतले दाबी गरेको छ।

प्रतिक्रिया दिनुहोस