Latest News

सर्ने भयो स्थानीय तहको निर्वाचनको मिति, नयाँ मिति तोक्ने यस्तो तयारी

Nepalese Times April 12, 2022 (1 Year ago)    1743 Views

काठमाडौं । स्थानीय तहको निर्वाचनको मिति सर्ने निश्चित जस्तै भएको छ । नेत्र विक्रम चन्द्र ‘विप्लव’ समूहलाई निर्वाचनमा समावेश गराउने बहानामा सत्तारुढ दलहरुले चुनावको मिति सार्ने तयारी गरेका हुन् ।

मन्त्रिपरिषद् बैठक बसेर स्थानीय तहको निर्वाचनको मिति सार्ने निर्णय गर्ने र त्यसैअनुसार निर्वाचन आयोगलाई परिपत्र गर्ने तयारी भएको एक मन्त्रीले जानकारी दिए ।

स्थानीय तहको निर्वाचनमा सहभागी हुनका लागि विप्लव समूहले पनि चाहना गरेकोले उनीहरुलाई सामेल गराउन भएपनि चुनावको मिति सार्ने तयारी भएको नेकपा एकीकृत समाजवादीका एक नेताले बताए ।

उनका अनुसार बैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनको मिति पर सारेर मंसिरमा तिनै तहको चुनाव एकैपटक गर्ने अथवा अर्को मिति तोक्ने भन्नेबारे सत्तारुढ गठबन्धनमा छलफल चलिरहेको छ ।

माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुले मंसिरमा एकैपटक चुनाव गर्नुपर्ने राय दिँदै आएका छन् । कांग्रेसका नेताहरुले भने मंसिरमा एकैपटक चुनाव गर्न नसकिने र संसदीय चुनावभन्दा अघि नै स्थानीय तहको चुनाव गर्नुपर्ने बताउँदै आएका छन् ।

यसअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि नेत्रविक्रम चन्द नेतृत्वको पार्टी निर्वाचनमा सहभागी भए वैशाख ३० को स्थानीय निर्वाचन सार्न सकिने बताएका थिए ।

कार्यकर्ता प्रशिक्षणका लागि सोमबार पर्वत पुगेका अध्यक्ष नेपालले विद्रोही विचार बोकेको एउटा समूह शान्तिपूर्ण राजनीतिमा आउनु मुलुककै लागि फाइदाजनक भएको दाबी गरे ।

चुनावको मिति सार्ने हल्ला छ, गठबन्धन सरकार त्यो स्थितिमा पुगेको हो भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘अहिलेका लागि ३० गते नै निर्वाचन हुन्छ भनेर एकलव्य भएर सोच्नुस् । चन्द समूहलाई स्वागत छ । विप्लवजी आउनुभयो भने हाम्रै निर्णयले रोकिएको रहेछ भने गठबन्धनका सबै साथीहरु तयार हुनुहुन्छ । विप्लव समूहलाई समावेश गर्ने कुरा आयो भने राम्रो हुन्छ ।’

यस्तै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन रोकिए दुर्घटना हुने बताएका छन् । विराटनगरमा निर्वाचन अभिमुखीकरण कार्यक्रममा बोल्दै निर्वाचनको रकेट प्रक्षेपण भइसकेकाले रोकिए दुर्घटना हुने बताएका हुन् ।

निर्वाचनका सम्पूर्ण तयारीका क्रममा मतपत्र छापिएर पठाउने क्रममा रहेको बताए । उनले भने, ‘निर्वाचनको रकेट प्रक्षेपण भइसकेको छ, रोकिए दुर्घटना हुन्छ ।’

चुनाव नभए लोकतन्त्र हार्ने उनको भनाई थियो । निर्वाचन अधिकृतहरु नियुक्त भएर कार्यालय स्थापनाको तयारीमा रहेको समेत बताए ।

चुनावमा आचारसंहिता कडाईका साथ लागू गर्ने बताए । उनले भने,‘मनी, मसल्स र मिडियाले जस्तोसुकै निर्वाचन जित्न सकिन्छ भन्ने भ्रम छ, यो स्थापित हुने हो कि भनेर आचारसंहिता लागू गरेका छौं ।’ निर्वाचनबारे भ्रम फैलाउन सामाजिक सञ्जालको दुरुपयोगतर्फ पनि ध्यान दिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस