Latest News

प्रचण्डलाई जोडेर आफ्नो विरोध भएको भन्दै भाइ नारायण दाहालले दिए कडा प्रतिक्रिया

Nepalese Times April 12, 2022 (2 Year ago)    687 Views

नवनियुक्त राष्ट्रियसभा सदस्य नारायण दाहालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आफू एकैदिन पार्टीमा पूर्णकालीन (होलटाइमर) भएर हिँडेको बताएका ।

आफू निरन्तर पार्टी काममा रहेको उल्लेख गर्दै उनले प्रचण्डलाई जोडेर आफ्नो विरोध हुने गरेका कारण आफूले पार्टीबाट धेरै अवसरहरू गुमाउनु परेको बताए ।

मंगलबार पद तथा गोपनीयताको शपथ दिएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भने, ‘म मेरो हैसियतको कुरा गर्दाखेरी अध्यक्ष र म एकैदिन होलटाइमर भएर हिँडेको । म निरन्तर पार्टीमा छु । निरन्तर काम गरेको छु । मेरो त दाबी के हो भने यस्तै बाहिरका कुराहरूले गर्दा मैले पाउनुपर्ने जति अबसरहरु गुमाउनु परेको छ बरु ।’

प्रचण्डको परिवारमा छोराछोरीदेखि सबै र आफ्ना पनि छोरा, बुहारी, श्रीमती सबै हामी युद्धमै रहेको उल्लेख गर्दै भने, ‘दश वर्षको जनयुद्धमा हामी आफूलाई सम्पूर्ण रुपमा समर्पित भएर हिँडेकाहरूलाई अब अहिले आएर यो कुरा भन्ने कुरा त तुक त छैन । तैपनि यसलाई हामीले त्यही ढंगले सम्झाउने, बुझाउने गर्नुपर्छ भन्ने मलाई लाग्छ ।’

दाहालले देशको राष्ट्रियता, स्वाधीनता र राष्ट्रिय अखण्डताको लागि आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्ने पनि बताए । यस्तै उनले बजेटको प्रक्रिया नजिकिन लागेको उल्लेख गर्दै बजेटलाई देशको समृद्धिको पक्षमा लगाउन लाग्ने पनि बताए । दाहालले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाबाट राष्ट्रिय सभा सदस्यको रुपमा सपथ ग्रहण गरेका हुन् ।

त्यस्तै उनले चितवनको भरतपुरमा रेनु दाहाललाई त्यहीँका जनताले खोजेको बताएका छन्।

‘कामले मान्छे खोज्ने हो। को व्यक्ति कता हो भन्ने कुरा भरतपुरमा गएर हेर्नुभयो भने थाहा हुन्छ। रेनुलाई हामीले खोजेको होइन, भरतपुरका जनताले खोजेका छन्। त्यहाँको विकास निर्माण, त्यहाँका कामले गर्दा खोजेका हुन्’, उनले भने, ‘अर्को कुरा के हो भने रेनु आफैँमा प्रचण्डकी छोरी भएर आएकै होइन यो आन्दोलनमा। उनी त आन्दोलनकारी भएर आएकी हुन्।’

रेनु पार्टीको नेताको रुपमा आएको उनले बताइन्। ‘पार्टीको कार्यकर्ताको रुपमा आएको हो। पार्टीले दिएको जिम्मेवारी पूरा गर्दै आएको पनि हो। हिजो हामी युद्धमा हिँड्दा तपाईंका छोराछोरीहरू के? भन्ने प्रश्न आउँथ्यो?’, उनले भने, ‘म गर्वकासाथ भन्छु हाम्रो परिवारमा अध्यक्षका छोराछोरीदेखि सबै, मेरो छोरा, बुहारी, बुढी सबै हामी युद्धमै थियौँ। दश वर्षको जनयुद्धमा हामी आफूलाई सम्पूर्ण रुपमा समर्पित भएर हिँडेकालाई यो कुरा भन्नुको तुक त छैन। तैपनि यसलाई हामीले त्यही ढंगले सम्झाउने, बुझाउने गर्नुपर्छ भन्ने मलाई लाग्छ।’

प्रतिक्रिया दिनुहोस