Latest News

माओवादी केन्द्रले जारी गर्यो पार्टीमा चुनाव केन्द्रीत यस्तो विशेष सर्कुलर, कसरी हुँदैछ उम्मेदवार छनोट ?

Nepalese Times April 12, 2022 (1 Year ago)    768 Views

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्थानीय तह निर्वाचन केन्द्रीत ६ बुँदे विशेष सर्कुलर जारी गरेका छन् । केन्द्रीय कार्यालयको तर्फबाट प्रचण्डले स्थानीय तहका उम्मेदवार छनौटका लागि आवश्यक विधि र प्रक्रिया अवलम्वनका लागि मातहतका कमिटीमा सोमबार सर्कुलर पठाएको हो।

वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनका दलबीच आपसी तालमेल र उम्मेदवार छनोटको विधि र प्रक्रियाबारे देशभरका प्रदेश समितिलाई परिपत्र पठाएको छ। अध्यक्ष प्रचण्डले पार्टीका सबै प्रदेशका इन्चार्ज र अध्यक्षलाई ६ बुँदे परिपत्र (सर्कुलर) पठाएका हुन्।

सर्कुलरमा उम्मेदवार छनोट गर्दा हरेक जिल्लामा कम्तीमा एक पालिका प्रमुख तथा हरेक पालिकामा कम्तीमा एक वडाध्यक्षको उम्मेदवार महिला बनाउन निर्देशन दिइएको छ।

महानगर, उपमहानगरका प्रमुख र उपप्रमुखका उम्मेदवार सर्वसम्मत भए एक/एक जना, नभए प्राथमिकता क्रममा ३ जनासम्मको नाम केन्द्रीय कार्यालयमा पठाउन प्रदेश समितिलाई भनिएको छ। यसको अन्तिम निर्णय भने केन्द्रीय कार्यालयले गर्ने उल्लेख छ।

यसैगरी नगरपालिका र गाउँपालिकाका प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्षका उम्मेदवारको सिफारिस सम्बन्धित पालिका समितिले गर्ने र सम्बन्धित जिल्ला समन्वय समितिको सुझावसहित प्रदेश समितिले उम्मेदवारको अन्तिम टुंगो लगाउन भनिएको छ। जसको अनुमोदन भने केन्द्रीय कार्यालयले गर्ने माओवादी केन्द्रको परिपत्रमा उल्लेख छ।

परिपत्रअनुसार वडाध्यक्ष र सदस्यको हकमा पार्टीको सम्बन्धित वडा समितिको सिफारिसमा पालिका समितिले निर्णय गर्ने र प्रदेश समितिले अनुमोदन गर्नुपर्नेछ।

सकेसम्म सत्ता गठबन्धनका दलबीच तालमेललाई प्राथमिकता दिने तर तालमेल हुन नसक्ने अवस्था आएमा र सत्ता साझेदार दलबीच नै प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आए केन्द्रको स्वीकृति लिएर गर्न सर्कुलर गरिएको छ।

प्रतिक्रिया दिनुहोस